मानसिक स्वास्थ्य, हिप्नोथेरापी (सम्मोहन) तथा वैकल्पिक उपचार सेवामा सक्रिय वेलनेस केन्द्र ‘गेट हिल्ड विथ आयुष’ले दोस्रो शाखा बुटवलको मिलनचोकमा सञ्चालनमा ल्याएको छ । याे शाखा शुक्रबारदेखि ओैपचारक रुपमा सञ्चालनमा आएकाे हाे ।
हिप्नोथेरापिस्ट, ऊर्जा–उपचारकर्ता तथा मनोसामाजिक परामर्शदाताका रूपमा परिचित आयुषचन्द्र रेग्मीद्वारा सञ्चालित यस केन्द्रले प्राचीन पूर्वीय उपचार पद्धति र आधुनिक वैज्ञानिक विधिको संयोजनमार्फत मानसिक स्वास्थ्य समस्याको समाधान गर्ने उद्देश्य राखेको छ । संस्थापक रेग्मीका अनुसार केन्द्रले अहिलेसम्म ४ हजारभन्दा बढी सफल केसमा उपचार सेवा प्रदान गरिसकेको छ ।
बुटवल शाखा विस्तारसँगै लुम्बिनी प्रदेशका सेवाग्राहीहरूलाई गुणस्तरीय तथा पहुँचयोग्य सेवा उपलब्ध हुने उनको विश्वास छ। “तनाव, आत्मविश्वासको कमी, भावनात्मक असन्तुलन, फोबिया, ट्रमा, सम्बन्धका चुनौती लगायतका समस्यामा राम्रो सफलता हासिल गरिरहेका छौँ,” रेग्मीले भन्नुभयाे-“नयाँ शाखामार्फत मानसिक स्वास्थ्य सेवा अझ सुरक्षित, वैज्ञानिक र सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।”
केन्द्रका अनुसार बुटवल शाखामा हिप्नोथेरापी र रिग्रेसन थेरापी, ऊर्जा उपचार तथा चक्र व्यवस्थापन, माइन्ड–बडी वेलनेस कार्यक्रम, तन्त्र–आधारित अभ्यास तथा प्रशिक्षण, सामूहिक माइन्ड ट्रेनिङ क्लास, मानसिक र भावनात्मक स्वास्थ्यसम्बन्धी कार्यशाला लगायतका सेवाहरु प्रदान गरिन्छ ।
यसबाहेक केन्द्रमा गेन्डम, मन्त्र, सम्मोहन विद्या, तन्त्र–महाविद्या साधना, भैरव साधना लगायतका अभ्यासहरू पनि सिकाइनेछन् ।
नेपालमा मानसिक स्वास्थ्यप्रति चेतना बढ्दै गएको वर्तमान अवस्थामा, बुटवलमा शाखा विस्तारले लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा वैकल्पिक उपचार सेवाको नयाँ विकल्प उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
‘गेट हिल्ड विथ आयुष’ को मुख्य कार्यालय काठमाडौंको धुम्बाराहीमा रहेको छ, भने अष्ट्रेलिया, युके र अमेरिकामा समेत शाखाहरू सञ्चालनमा छन् ।