अब बुटवलमै हातको शल्यचिकित्सा सेवा

1.3K

अब बुटवलमै हातको शल्यचिकित्सा सेवा

हात मानव जीवनको अत्यन्त महत्वपूर्ण अंग हो । हात बिना दैनिक जीवनका अधिकांश काम असहज र अपूर्ण हुन्छन् । त्यसैले हातको स्वास्थ्यको संरक्षण र उपचार पनि उत्तिकै आवश्यक मानिन्छ ।
कुमदेखि पाखुरा हुँदै औँलाको टुप्पासम्मको भागलाई हात भनिन्छ । हातसम्बन्धी रोग तथा समस्याको उपचार गर्ने विशेषज्ञ चिकित्सकलाई ‘हेन्ड सर्जन’ भनिन्छ । हात झमझमाउने, छिट्टै थाक्ने वा गल्ने, हड्डी भाँचिने, नसामा क्षति पुग्ने, औँला नचल्ने, जलनका कारण हात खुम्चिने, जन्मजात औँला जोडिने वा औँलाको संख्या बढी वा कम हुनेजस्ता विभिन्न समस्या हातमा देखिन सक्छन् । यस्ता समस्याको समयमै सही उपचार भएमा पूर्ण रूपमा निको पार्न सकिने सम्भावना उच्च हुन्छ ।

हात झमझमाउने समस्या विभिन्न कारणले हुन सक्छ । हातको नसामा दबाब पर्नु, घाँटीको हड्डीसम्बन्धी समस्या हुनु वा अन्य स्नायुसम्बन्धी कारणले पनि यस्तो अवस्था आउन सक्छ । त्यसैगरी, काम गर्दा छिट्टै हात थाक्ने, जन्मजात औँलाको असामान्य संरचना हुनेजस्ता समस्याको पनि परीक्षण गरी उपचार गर्न सकिन्छ ।
हेन्ड सर्जन डा. विकाश न्यौपानेका अनुसार जलनका कारण बाँगो, खुम्चिएको वा आपसमा टाँसिएको हात तथा औँलाको समयमै उपचार गरेमा राम्रो परिणाम प्राप्त गर्न सकिन्छ । दुर्घटना वा चोटपटकका कारण हात भाँचिने, नसाहरू काटिने वा औँला चुटिने समस्या पनि शल्यचिकित्सामार्फत पुरानै अवस्थामा फर्काउन सकिने उनले बताए ।

यसअघि यस्ता जटिल समस्याको उपचारका लागि बिरामीहरू काठमाडौं वा भारतसम्म जानुपर्ने बाध्यता थियो । तर पछिल्लो समय नेपालमै हातको शल्यचिकित्सा सेवा विस्तार हुँदै गएको छ । काठमाडौंमा सीमित रहेको यो सेवा अहिले विकसित सहरहरूमा पनि उपलब्ध हुन थालेको छ ।
हालै डा. न्यौपानेले बुटवल हस्पिटल प्रालिमा हातको शल्यचिकित्सा सेवा सुरु गरेका छन् । यसबाट पश्चिम नेपालका हातसम्बन्धी समस्या भएका बिरामीलाई काठमाडौं वा भारत धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।
हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. न्यौपाने सन् २०१२ देखि चिकित्सा सेवामा अभ्यस्त छन् । उनले पाल्पास्थित युनाइटेड मिसन अस्पताल र दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय हाडजोर्नी सेवामा काम गरी अनुभव हासिल गरेका छन् । त्यसपछि भारतमा विशेष अध्ययन गरी हातको शल्यचिकित्सा तथा हातसम्बन्धी रोगको उपचारमा विशेषज्ञता प्राप्त गरेका हुन् ।
पश्चिम नेपालका नागरिकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले बुटवलमा यो सेवा सुरु गरिएको बताउँदै उनले निकट भविष्यमा दूरबिन प्रविधिबाट हात तथा हातका नसाको उपचार गर्ने लक्ष्य रहेको जानकारी दिए ।