नेपाल मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

1.3K

नेपाल मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’ डिजिटल पोर्टल

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले आफ्नो सेवा प्रवाहलाई थप पारदर्शी, छरितो, जवाफदेही र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘हेलो एनएमसी’ नामकाे डिजिटल जिज्ञासा, गुनासो, उजुरी तथा सुझाव पोर्टल सञ्चालनमा ल्याएको छ ।
काउन्सिलले सार्वजनिक सूचना जारी गर्दै सर्वसाधारण नागरिक तथा दर्तावाल चिकित्सकहरूले अब काउन्सिलको कार्यालयमा प्रत्यक्ष उपस्थित नभई अनलाइन माध्यमबाट आफ्ना गुनासा, उजुरी, जिज्ञासा तथा सुझाव दर्ता गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ ।
काउन्सिलका अनुसार स्वास्थ्य सेवा तथा चिकित्सा पेशासँग सम्बन्धित विषयमा नागरिकले उठाउने प्रश्न, सेवा सम्बन्धी असन्तुष्टि, चिकित्सकीय आचारसंहिता सम्बन्धी उजुरी तथा प्रशासनिक सेवासँग जोडिएका गुनासाहरूलाई व्यवस्थित रूपमा सम्बोधन गर्न यो डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको हो ।
चिकित्सक र सर्वसाधारण दुवैलाई सुविधा
सूचनाअनुसार दर्तावाल चिकित्सकहरूले डक्टर डट एनएमसी डट ओ.आर.जी डट एन.पी मार्फत आफ्नो व्यक्तिगत खातामा लगइन गरेर व्यावसायिक वा प्रशासनिक प्रकृतिका गुनासा तथा उजुरी दर्ता गर्न सक्नेछन् ।
यस्तै सर्वसाधारणले नेपाल मेडिकल काउन्सिलको आधिकारिक वेबसाइटमार्फत ‘हेलो एनएमसी’ पोर्टलमा प्रवेश गरी आफ्ना समस्या, सुझाव वा जिज्ञासा सहज रूपमा दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । काउन्सिलले सार्वजनिक गरेकाे सूचनामा क्यूआर कोडसमेत उपलब्ध गराएको छ, जसलाई मोबाइलबाट स्क्यान गरी सिधै डिजिटल फाराममा पुग्न सकिनेछ ।
यसका अतिरिक्त आवश्यक प्रमाण तथा कागजातसहित उजुरी वा गुनासा इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ ।
काउन्सिलले नयाँ पोर्टलमा उजुरीकर्ताको गोपनीयतालाई विशेष प्राथमिकता दिएको जनाएको छ । उजुरीकर्ता चाहेमा आफ्नो नाम सार्वजनिक गरेर वा पूर्ण रूपमा गोप्य राखेर उजुरी दर्ता गर्न सक्नेछन् ।
त्यसैगरी दर्ता भएका उजुरीहरूको अवस्थाबारे जानकारी लिन सकिने ‘कम्प्लेन ट्र्याकिङ सिस्टम’ समेत विकास गरिएको छ । उजुरी दर्तापछि प्रणालीले स्वतः एक विशेष ‘युनिक ट्र्याकिङ नम्बर’ उपलब्ध गराउनेछ, जसको आधारमा उजुरीको प्रगति तथा कारबाही प्रक्रिया अनुगमन गर्न सकिनेछ ।
काउन्सिलका अनुसार उजुरीको अवस्थाबारे जानकारी एसएमएस र इमेलमार्फत नियमित रूपमा अद्यावधिक गरिनेछ, जसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाउने विश्वास गरिएको छ ।
स्वास्थ्य क्षेत्रको डिजिटल सुशासनतर्फ महत्वपूर्ण कदम
स्वास्थ्य क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल मेडिकल काउन्सिलले प्रविधिको प्रयोगमार्फत सेवा पहुँच विस्तार गर्न थालेको यो कदमलाई डिजिटल सुशासनको दिशामा महत्वपूर्ण पहलका रूपमा हेरिएको छ । यसबाट नागरिकका गुनासा र सुझावलाई छिटो सम्बोधन गर्न, सेवा प्रवाहमा पारदर्शिता बढाउन तथा काउन्सिलप्रति जनविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काउन्सिलले प्राप्त हुने उजुरी, गुनासा र रचनात्मक सुझावहरूको उचित सम्बोधन गर्दै आफ्नो सेवालाई अझ प्रभावकारी, उत्तरदायी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।