यहि भदौ १ गतेदेखि बुटवलमा प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । बुटवल ११ स्थित ज्ञानपुञ्ज इङ्लिस बोर्डिङ स्कूलको आयोजनामा रुपन्देहीका ४३ विद्यालयहरुको सहभागितामा सभेन ए साईड प्रतियोगिता हुन लागेको हो ।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै विद्यालय तहबाटै खेलाडी उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले सभेन एसाईड प्रतियोगिता गर्न लागेको जनाएको छ । बुटवल ११ स्थित एन्फा एकेडेमिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए । प्रतियोगितामा उपविजेताले नगद ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्रले पुस्कृत हुनेछन् ।
विद्यालयका प्राचार्य भण्डारीले ज्ञानपुञ्जले कम्तीमा एउटा खेललाई प्राथमिकतामा राखी सभेन ए साईड प्रतियोगिता सुरु गरिएको बताए । उनले कुनै एक खेललाई नियमित रुपमा सञ्चालन गर्दा स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मको खेलकुद विकासमा योगदान पुग्ने बताए ।
खेलकुदलाई केवल मनोरञ्जन वा अतिरिक्त क्रियाकलापका रुपमा नभई विद्यार्थीको शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन, अनुशासन, नेतृत्व क्षमता विकास गर्ने शैक्षिक माध्यमका रुपमा लिइएको बताए ।
यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपर, गोर रक्षक र म्यान आफ दी म्याचलाई नगद सहित पुरस्कृत गरिने विद्यालयले जनाएको छ । पत्रकार सम्मेलनमा प्राचार्य भण्डारीले २०६२ सालमा स्थापना भएको विद्यालय पछिल्लो समय नयाँ व्यवस्थापन प्रारम्भसँगै शैक्षिक प्रणालीलाई समय, प्रविधि र विद्यार्थीको बदलिदो आवश्यकता अनुकुल रुपान्तरण अभियान थालिएको बताए ।
विद्यालयले नमूना संसदm नमूना संयुक्त राष्ट्र संघ तथा नमूना न्यायपालिका, गेष्ट अफ दी मन्थ, असल अभिभावक कार्यशाला, शिक्षक विद्यार्थी र बिशिष्ट व्यक्तिविच अन्तरसंवाद जस्ता नविन अभ्यासका कार्यक्रम गर्ने गरेको प्राचार्य भण्डारीले बताए ।
पत्रकार सम्मेलनमा खेलकुद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले विद्यालयमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भट्टराई, सहप्राचार्य भिम बस्नेत, प्रायोजक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । भदौ १ गतेदेखि सुरु हुने प्रतियोगिता ८ गतेसम्म चल्ने छ ।