सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब

1.3K

सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब

सरकारी कर्मचारीले अब १५ दिनमै तलब पाउने भएका छन् । सरकारी कर्मचारीलाई अब महिनाको १५ दिन पूरा भएपछि नै तलब तथा भत्ता पाउने व्यवस्था गर्न महालेखा नियन्त्रक कार्यालयले निर्देशन दिएको छ ।
महालेखा नियन्त्रक कार्यालयले अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शनअनुसार संघीय सरकारअन्तर्गतका निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब, भत्ता तथा कर्मचारी प्रोत्साहन भत्ता समेत भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको हो ।
कार्यालयले २०८३÷०५÷०९ गते जारी गरेको पत्रमा प्रणालीमा आवश्यक व्यवस्था मिलिसकेकाले मातहतका कार्यालयमा कार्यरत राष्ट्रसेवकलाई अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्न आग्रह गरेको छ ।
यस्तै, बजेट वक्तव्य २०८३÷८४ अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत सोहीअनुसार भुक्तानी गर्न भनिएको छ । संघीय सरकारी निकायबाट भुक्तानीका लागि निकासा माग भएमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत आवश्यक व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको छ ।
महालेखा नियन्त्रक कार्यालयको बजेट तथा कार्यक्रम शाखाका लेखा अधिकृत शुभाषचन्द्र अर्यालद्वारा हस्ताक्षरित पत्रमा उक्त व्यवस्था कार्यान्वयनका लागि सबै सम्बन्धित कार्यालयलाई आग्रह गरिएको छ ।