बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आगामी असोज २१–२३ गते आयोजना हुने ७३ औं वार्षिक साधारण सभा तथा २६ औं अधिवेशनका लागि कार्यसमिति सदस्यहरुलाई तयारीको जिम्मेवारी प्रदान गरिएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालेको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले विभिन्न १० वटा तयारी समिति गठन गर्दै त्यसका लागि कार्यसमिति सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
साधारण सभा तथा अधिवेशन तयारीका सन्दर्भमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डेलाई प्रस्ताव लेखन, कार्यसमिति सदस्य गणेशप्रसाद भट्टराईलाई किटव्याग व्यवस्थापन तथा रजिष्ट्रेसन, कार्यसमिति सदस्य विष्णु घिमिरे पन्त (कमला)लाई सदस्यता मत सर्वेक्षण, कार्यसमिति सदस्य रेनु श्रेष्ठलाई स्वागत तथा सत्कार, कार्यसमिति सदस्य रामबहादुर भण्डारीलाई खाना तथा जलपान व्यवस्थापन, कार्यसमिति सदस्य दिपक चापागाईलाई निमन्त्रणा कार्ड व्यवस्थापन, कार्यसमिति सदस्य उमेश अमात्यलाई हल तथा मञ्च व्यवस्थापन तथा कार्यसमिति सदस्य टिकाराम वञ्जाडेलाई पार्किङ व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ ।
त्यसैगरी संघका पूर्वअध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठलाई संघले प्रदान गर्ने आर्थिक पत्रकारिता पुरस्कार मुल्यांकन र पूर्वअध्यक्ष खिमबहादुर हमाललाई उत्कृष्ट उद्योगी–व्यवसायी मुल्यांकन संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि संघका कानुनी परामर्शदाता अधिवक्ता बाबुराम पाण्डेलाई प्रमुख निर्वाचन अधिकृत तथा अधिवक्ता माधव घिमिरे र अधिवक्ता गोविन्द मरासिनीलाई निर्वाचन अधिकृत नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य समितिमा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, सहरी विकास समितिमा महासचिव मुक्तिप्रसाद अधिकारी र महिला उद्यमी समितिमा कार्यसमिति सदस्य सुनिता शर्मा वञ्जाडे मनोनयन हुनुभएको तथा नेपाल–भारत व्यापार मण्डलको सचिवमा कार्यसमिति सदस्य दीपक घिमिरे मनोनित हुनुभएकोमा बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।
संघले रसुवाको भोटेकोशी नदिमा आएको बाढी प्रभावितको राहत तथा उद्धारका लागि लागि नेपाल उद्योग वाणिज्य महासंघ मार्फत प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै उक्त विपत्तिमा परि ज्यान गुमाएकाहरुको सम्झना तथा दिवंगत आत्माको चिरशान्तिको कामना सहित आज सोमबार १३ दिनको दिन साँझ संघ परिसरमा दीप प्रज्ज्वलन गर्ने निर्णय गरिएको छ ।
त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका संघका अध्यक्ष अर्यालले साधारण सभा तथा अधिवेशन सभ्य र भव्य बनाउन सबैले आ–आफ्नो स्थानबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै आफ्नो तर्फबाट पनि अधिवेशनलाई मर्यादित र निश्पक्ष बनाउन इमान्दार भूमिका खेल्ने बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघको गरिमा बढ्दा र संघ बलियो बन्दा यसका सदस्यहरुको पनि गरिमा बढ्ने र बलियो हुने भएकाले संघको गरिमा बढाउने र बलियो बनाउने गरी लाग्न सबैलाई आग्रह गरे ।
बैठकमा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतीक पोखरेल तथा सहकोषाध्यक्ष धनकला खनालले समसामयिक विषयमा आ–आफ्ना भनाई राखेका थिए ।