बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : दुई टिम प्रतिस्पर्धामा

1.3K

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : दुई टिम प्रतिस्पर्धामा

बुटवल उद्योग वाणिज्य संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा नरिश्वर शर्मा पौडेल र टंकप्रसाद गैरे सिंगो टिमसहित चुनावी मैदानमा होमिएका छन् । संघको ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि भोली (सोमबार) निर्वाचन हुँदैछ ।
संघमा अध्यक्ष सहित १ वरिष्ठ उपाध्यक्ष, १ उद्योग उपाध्यक्ष, १ वाणिज्य उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ सचिव र १ सहसचिव पद सहित कार्यसमिति सदस्य तर्फ १ एशोसियट सदस्य, ४ उद्योग सदस्य, ४ बाणिज्य सदस्य, ७ खुल्ला र २ महिला सदस्य पदमा निर्वाचन हुँदैछ ।
उक्त अधिवेशनबाट संघको नेतृत्व लिनका लागि अध्यक्ष पदमा संघका मौजुदा समितिका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे र पूर्व वाणिज्य उपाध्यक्ष तथा मौजुदा समितिका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेल प्यानल सहित चुनावी मैदानमा उत्रिएका हुन् ।
अध्यक्ष पदमा उम्मेद्वार दिएका पौडेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मौजुदा समितिका उद्योग उपाध्यक्ष सुरज भट्टराई र अध्यक्ष पदका अर्का उम्मेद्वार गैरेको प्यानलबाट वरिष्ठ उपाध्यक्ष मौजुदा समितिका वाणिज्य उपाध्यक्ष बिमलराज भट्टराई प्रतिस्पर्धामा छन् ।
त्यसैगरी पौडेल प्यानलबाट उद्योग उपाध्यक्षमा निर्मित कसजू तथा वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा छन् भने गैरे प्यालनबाट उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।
त्यसैगरी महासचिव पदमा मौजुदा समितिका कोषाध्यक्ष बसन्तप्रसाद ढकाल र मौजुदा कार्यसमितिकी सदस्य जमुना पौडेलको उम्मेद्वारी परेको छ । ढकाल पौडेल प्यानलबाट हुन् भने पौडेल गैरे प्यानलबाट उम्मेदरी दिएकी हुन् ।
त्यस्तै कोषाध्यक्ष पदमा प्रतीक पोखरेल र टिकाराम वञ्जाडेको उम्मेद्वारी परेको छ । कोषाध्यक्ष पदका उम्मेदवार पोखरेल पौडेल प्यानलबाट हुन् भने वञ्जाडे गैरे प्यानलबाट हुन् ।
सचिव पदमा दिपक चापागाईं र काशिराम शर्मा पौडेल तथा सहकोषाध्यक्ष पदमा जाकिर हुसेन र कमला पोख्रेल पराजुली चुनावी मैदानमा छन् । सचिव पदका चापागाईं र सहकोषाध्यक्ष पदका पोख्रेल पौडेल प्यानलका हुन् भने अर्का सचिव पदका पौडेल र सहकोषाध्यक्ष पदका हुसेन गैरे प्यानलबाट हुन् ।
त्यसैगरी एशोसियट तर्फबाट कार्यसमिति सदस्य पदमा पनि दुई वटै प्यानलबाट उम्मेदवार चुनावी मैदानमा छन् । एशोसियटबाट कार्यसमिति सदस्य पदमा प्रतिस्पर्धामा रहेका बालकृष्ण पौडेल गैरे प्यालनबाट र अर्का भानुभक्त खत्री पौडेल प्यानलबाट प्रतिस्पर्धा गरेका हुन् ।
चार उद्योग सदस्य पदमा ८ जनाको प्रतिस्पर्धा रहेको छ । यो पदमा पौडेल प्यानलबाट सुनिता शर्मा वञ्जाडे, कृष्णप्रसाद पाण्डेय, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारी छन् भने गैरे प्यानलबाट दिपक बास्तोला, गोपाल टण्डन, ज्ञानप्रसाद खनाल र प्रबिन्द्र गोविन्द श्रेष्ठ (पिजि) प्रतिस्पर्धामा छन् ।
त्यस्तै चार बाणिज्य सदस्य पदमा पनि ८ जना प्रतिस्पर्धामा छन् । यो पदमा पौडेल प्यानलबाट गणेशप्रसाद भट्टराई, उमेश अमात्य, रामबहादुर भण्डारी र धर्मेन्द्रकुमार कशौधन तथा गैरे प्यानलबाट मनिषकुमार हेजू (पुट्टे), मिलनकुमार भारी, राजेश भट्टराई र सुनिता गिरी प्रतिस्पर्धामा छन् ।
खुल्ला ७ कार्यसमिति सदस्य पदमा १४ जना प्रतिस्पर्धामा छन् । यो पदमा पौडेल प्यानलबाट अलिम दिन, विष्णु उपाध्याय, बिष्णु घिमिरे पन्थ (कमला), दिपक घिमिरे, प्रदिप शाक्य, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद) र शिवदेव अर्याल छन् भने गैरे प्यालनबाट बिजयकुमार बर्णवाल, गणेशप्रसाद सेढाई, गोपालप्रसाद बस्याल, सुनिता अर्याल, जनककुमार श्रेष्ठ, सुशिलप्रसाद श्रेष्ठ र ठाकुर घिमिरे प्रतिस्पर्धामा छन् ।
त्यसैगरी दुई महिला सदस्य पदमा पनि ४ जना प्रतिस्पर्धामा छन् । यो पदमा पौडेल प्यानलबाट मञ्जु पुरी गिरी र रेनु श्रेष्ठ तथा गैरे प्यालनबाट सुस्मा केसी र सुकमाया श्रेष्ठ ध्वजु (सिता) चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचनको तयारी पुरा

संघको भोली सोमबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जनाएको छ । संघको ७३औं वार्षिक साधारण सभा तथा २६औं अधिवेशन अन्तरगत भोली नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदानका लागि सम्पूर्ण तयारी पुरा भएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराए । निर्वाचन कार्यक्रम अन्तरगत भोली बिहान ८ बजेदेखि मतदानको कार्यक्रम तय गरिएको छ । साँझ ५ बजेसम्म मतदान हुनेछन् । यो अधिवेशनका लागि १ हजार ८१० जना मतदाता रहेको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए ।