यस वर्षको दशैँ अवधिमा देशभर मौसम सामान्यतया अनुकूल रहने भए पनि पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली र केही पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना देखिएको छ । नेपालबाट मनसुन बाहिरिइसकेकाले दशैँका अधिकांश दिनमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार फूलपातीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि केही दिन आंशिक बदलीसँगै हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
शनिबार फूलपातीका दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्नेछ । देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली हुने देखिए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले पूर्वानुमान गरेकाे छ ।
फूलपातीको दिउँसो देशका हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । रातिको समयमा कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
आइतबार अष्टमीका दिन पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ । मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । हिमाली क्षेत्र तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
अष्टमीको राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
कार्तिक २ देखि ४ गतेसम्म अर्थात् अष्टमी, नवमी र दशमीको अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ । देशका अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । यस अवधिमा उल्लिखित हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।