आज बडा दशैं : टीकाको उत्तम साइत १०.२६ मा

1.3K

आज बडा दशैं : टीकाको उत्तम साइत १०.२६ मा

बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । समितिले उत्तम साइत खोज्नेहरूका लागि बिहान १० बजेर २६ मिनेटको समय निर्धारण गरेको छ ।
दशैंको टीका लगाउँदा टीका थाप्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । धार्मिक मान्यताअनुसार दक्षिण दिशा पितृकर्मसँग सम्बन्धित भएकाले टीका लगाउँदा दक्षिण फर्किने चलन छैन ।
दुर्गा विसर्जनपछि कलशमा राखिएको जललाई पवित्र मान्दै त्यसबाट अभिषेक गर्ने, इष्टदेवता र कुलदेवताको स्मरण गर्ने तथा जमरा काटेर टीका लगाउने परम्परा छ । कतिपय समुदायमा घरको मूल ढोकामाथि टीका लगाउने चलनसमेत छ।
गुरुपुरोहितबाट पूजा गराइएको घरमा उहाँहरूबाट र अन्य अवस्थामा घरका मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने परम्परा छ । सुरुमा कुलदेवता र पितृदेवतालाई टीका चढाएपछि परिवारका सदस्यले मान्यजनबाट टीका लगाउने चलन छ ।
टीका लगाउन उत्तम साइत नै कुर्नुपर्ने बाध्यता भने नरहेको धर्मशास्त्रका जानकारहरू बताउँछन् । बिहान घाम झुल्केपछि आफ्नो अनुकूलतामा मान्यजनबाट टीका ग्रहण गर्न सकिन्छ ।
दशैंमा मुख्य कुरा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्नु भएकाले परिस्थितिअनुसार अनुकूल समयमा टीका लगाउन सकिने परम्परा छ ।