पाराओलम्पिकमा बिक्रम बाहिरिए

1.3K

पाराओलम्पिकमा बिक्रम बाहिरिए

काठमाडौं, २६ भदौ । रियो पाराओलम्पिकमा बिक्रम राना पहिलो चरणबाटै बाहिरिएका छन् । ब्राजिलको रियो द जेनेरियोमा १ सय मिटर दौडमा राना दौडमा भाग लिएका १८ जनामा पुछारमा रहे ।

उनी भन्दापछि रहेका २ जना खेलाडीले भने दौड नै पुरा गरेनन् । विक्रमले निर्धारित दूरी १३ दशमलव ०२ सेकेण्डमा पूरा गरेका थिए । जुन चार वर्षअघि लण्डनमा गरेको प्रदर्शनभन्दा खराब हो ।

११ दशमलव ७० सेकण्डको समय निकाल्ने खेलाडी दोश्रो चरणमा प्रवेश गरेका थिए । बैतडीका ३७ वर्षे रानाले चार वर्षअघि लण्डन ओलम्पिकमा २ वटा स्पर्धामा भाग लिएका थिए ।

उनले लण्डनमा १ सय मिटर दूरी १२ दशमलव ८१ सेकेण्डमा र २ सय मिटर दूरी २६ दशमलव ९५ सेकेण्डमा पूरा गर्दै दक्षिण एशियाली कीर्तिमान कायम गरेका थिए । द्वन्द्वका क्रममा आँखा गुमाएका उनी दृष्टिविहिन क्रिकेट खेलाडी पनि हुन् ।

राना नेपाली सेनामा आवद्ध छन् । दुई जना खेलाडीका साथमा २१ जना पदाधिकारी पाराओलम्पिकमा भाग लिन रियो पुगेका छन् ।
पाराओलम्पिकमा अब पौडीमा लक्ष्मी कुँवरले खेल्न बाँकी छ ।

उनले आउँदो शनिबार १ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने छन् ।