नेपालकै शान बुटवलको ‘जीतगढी किल्ला’ !

1.6K

नेपालकै शान बुटवलको ‘जीतगढी किल्ला’ !

बुटवल, ६ बैशाख । २ सय वर्ष अंगाडी अंग्रेज सेनालाई पराजित गरि विजय हासिल गरेको बुटवलको ‘जीतगढी किल्ला’को संरक्षण तथा प्रचारप्रसार सुरु गरिएको छ । बिक्रम संवत् १८७२ मा तत्कालिन पाल्पा राज्यका कर्णेल उजिरसिंह थापाको नेतृत्वमा सेनाले यहि जीतगढी किल्लामा अंग्रेजसंग युद्ध गरेको थियो । त्यस युद्धमा पाल्पाली सेनाले अंगेज सेनालाई प्रहास्त गरि बिजय हासिल गरेको थियो ।

२०४ वर्ष पुरानो ऐतिहासिक किल्लाको संरक्षण तथा प्रचारप्रसार गरि पर्यटन प्रवद्धन गर्ने उद्देश्य सहित बुटवल उपमहानगरपालिकाले युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापाको पूर्णकदको सालिक निर्माण गरेको छ भने सालिकको छेवैमा देशकै ठूलो राष्ट्रिय झण्डा फहराउने तयारी गरिएको छ । ९ फिट उचाईको उक्त सालिक अनावरण तथा ४२ फिट उचाईमा भोली शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको छ ।

कर्णेण उजिरसिंहको नेतृत्वमा अंग्रेजलाई पराजित गरिएको उक्त किल्लाको नाम जीतगढी राखिएको थियो । २०४ वर्षको ईतिहास बोकेको जीतगढी किल्लामा गतवर्षदेखि मात्रै विजयोत्सव मनाउन सुरु गरिएको हो । विजयोत्सवका अवसरमा भोली शनिबार बिहान बुटवल उपमहानगरपालिकाको कार्यालय परिसरबाट प्रभातफेरी गरिने छ भने मध्यान्न उजिरसिंहको सालिक अनावरण तथा झण्डोत्तोलनको कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रक्षा मन्त्री ईश्वर पोखरेल लगायतका शिर्ष नेता बुटवल आउने कार्यक्रम तय गरिएको छ । बिजयोत्सवलाई भब्य बनाउन जीतगढीमा बिशेष तयारी गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै नेपाली सेनाले पनि तत्कालिन युद्धको प्रहसन गर्ने तयारी गरेको छ ।

बुटवल उपमहानगरले जितगढी संरक्षणकोलागि गुरुयोजना बनाएको र जितगढीलाई मणिमुकुन्दसेन उद्यान, नुवाकोट गढी, रामापिथेकस क्षेत्र, लक्ष्मीनगर र हिलपार्कसम्म जोडिने नगर प्रमुख शिवराज सुवेदीले बताउनु भएको छ । त्यसकालागि नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैंया विनियोजन गरेको थियो । त्यस्तै जीतगढी किल्लाको संरक्ष्ण तथा पूर्वाधार बिकासमा प्रदेश सरकारले १ करोड ६० लाख र संघीय सरकारले १० लाख रुपैंया बजेट बिनियोजन गरेका थिए ।