बुटवलले ल्यायो चार भाषामा नागरिक बडापत्र

15

बुटवलले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो।
बुटवल उपमहानगरमा बसोबास गर्नेमध्ये जनसंख्याको अनुपातका आधारमा ४ भाषामा तयार गरिएको नागरिक बडापत्र मंगलबार एक कार्यक्रमका बीच नगर प्रमुख खेलराज पाण्डेयले सार्वजनिक गर्नुभयाे ।  
कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले जनसंख्याको आधारमा ४ भाषामा बडापत्र राखिएको र आगामी दिनमा अरु केही भाषाका बडापत्र राख्ने गरी तयारी भएको बताउनु भयाे । ‘अहिले हामीले बुटवलमा बोलीचालीमा रहेका मुख्य ४ भाषाको बडापत्र तयार गरेका छौं, उहाँले भन्नुभयाे-आगामी दिनमा आवश्यकताअनुसार अरु भाषामा पनि बडापत्र तयार गरेर सबैलाई अपनत्व महसुस गराउन प्रयास गरिनेछ ।’ उहाँले स्थानीय स्तरमा थारु, मगर र नेपाल भाषाको बोलीचालीअनुसार स्थानीय विज्ञहरुको संलग्नतामा बडापत्र तयार गरिएकोले भूगोलअनुसार भाषामा फरक आउनसक्ने बताउनु भयाे ।
‘बुटवलमा बोलिने र चलनचल्तीमा रहेका भाषाहरु र अन्यत्रका भाषाहरुमा मेल नखान सक्छ भन्ने विज्ञहरुकै सल्लाहअनुसार हामीले बुटवलको चलनचल्तीअनुसार नै प्रयोगमा आउने बडापत्र बनाएका छौं, उहाँले भन्नुभयाे-यसमा विज्ञहरुले केही सुधार गर्नुपर्ने र थप्नुपर्ने भएमा हामीलाई सुझाव दिनुहोला, समयानुकल परिमार्जन गर्दै लगिन्छ ।’
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले सबै जाति भाषा संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले ४ भाषामा बडापत्र तयार गरिएको बताउनु भयाे । उहाँले बुटवलले आगामी दिनमा अरु भाषामा बडापत्र तयार गर्ने र त्यसका लागि सल्लाहको अपेक्षा रहेको बताउनु भयाे ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बुटवल उपमहानगरपालिकामा नेपाली भाषा बोल्ने ७८.७, मगर भाषा बोल्ने ६.८ नेपाल भाषा बोल्ने ३ र थारू भाषा बोल्ने ४.९ प्रतिशत जनसंख्या रहेको छ ।
बडापत्रको प्रयोगले सेवाग्राहीले आफ्नो कामको सम्बन्धमा सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्नेछन् ।
आफूले प्राप्त गर्न खोजेको सेवा सो बडापत्रमा हेरेपछि त्यसका लागि आवश्यक कागजपत्र, दस्तुर तथा सेवा लिन प्रयोग गर्नुपर्ने सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।
सो कामका लागि जानुपर्ने कोठा तथा त्यस कोठामा रहेका कर्मचारीको विवरणसमेत सोही बडापत्रमा हेर्न सकिने छ । कार्यालयमा आउने कुनै पनि सेवाग्राहीले आफ्नो कामको बारेमा जानकारी लिन कसैलाई सोध्नु नपर्ने गरी नागरिक बडापत्र राख्नुपर्ने ऐनको व्यवस्था छ ।
बडापत्रलाई पुस्तकका रुपमा प्रकाशन गरिएको र छिटै नै डिजिटल रुपमा सबै वडाहरुमा राख्ने गरी तयारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयाे ।