काउनद्वारा जनप्रतिनिधिलाई सम्मान

246

काउनद्वारा जनप्रतिनिधिलाई सम्मान

बुटवल, ११ साउन । स्थानीय तहको निर्वाचनले आशा जगाएको निर्माण व्यवसायीले बताएका छन् । मजदुर तथा श्रमिक वर्गको मतबाट स्थानीय तहमा जनप्रतिनिधि आएकाले मजदुरका समस्या सम्वोधन हुन सक्ने उनीहरुले बताए ।
मजदुरहरुले काम अनुसारको दाम पाउन नसकेको अवस्थामा सम्पन्न स्थानीय तहको निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिले मजदुरहरुको पक्षमा काम गर्नेमा उनीहरुले विश्वास गरेका छन् । सवै क्षेत्रबाट शोषित पीडित मजदुर वर्गको हकहित र अधिकारको पक्षमा जनप्रतिनिधिले काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
नेपाल निर्माण तथा सम्वद्व श्रमिक संघ (काउन) बुटवल नगर समितिले बुधवार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १२ को सदस्य पदमा निर्वाचित काउनका साधारण सदस्य नारायणबहादुर बस्यालको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्ने निर्माण व्यवसायीले अव आफ्नो अधिकार खोज्ने बेला आएको बताए । स्थानीय जनप्रतिनिधिले मजदुर वर्गको समस्यालाई सम्बोधन गर्न सके देशको विकासले गतिलिन सक्ने उनीहरुको भनाई छ ।
कार्यक्रममा बोल्दै काउनका राष्ट्रिय उपाध्यक्ष ओमप्रकास चौधरीले अधिकारका लागि मजदुरहरु संगठित भएर जनप्रतिनिधिहरुलाई आफ्ना समस्याबारे जानकार गराउनुपर्ने बताउनुभयो । लोकतन्त्र र गणतन्त्रले अधिकार दिन नसकेपनि जनप्रतिनिधिले मजदुरहरुलाई अधिकार दिन सक्ने उहांले बताउनुभयो ।
कार्यक्रममा काउनका साधारण सदस्य तथा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ बाट निर्वाचित वडा सदस्य नारायणबहादुर बस्यालले आफु पनि मजदुर भएकाले मजदुरवर्गका समस्या समाधानमा विशेष भूमिका खेल्ने बताउनुभयो ।
काउन बुटवल नगर समितिका अध्यक्ष सूर्यदेव दासले स्थानीय तहमा अव मजदुर वर्गको पनि प्रतिनिधित्व भएकाले विगतमा जस्तो मजदुर वर्गले समस्या झेल्नु नपर्ने भन्दै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले मजदुर वर्गका समस्या समाधानमा विशेष भूमिका खेल्नुपर्ने वताउनु भयो ।
कार्यक्रममा काउन रुपन्देही सचिव कृष्णप्रसाद चौधरी, कोषाध्यक्ष कृष्णप्रसाद भुसाल, पत्रकार खिमानन्द भट्टराई लगायतले बोल्दै श्रमजीवि वर्गको अधिकार सुनिश्चित गर्नका लागि अब स्थानीय जनप्रतिनिधिहरुलाई खवरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
काउन बुटवल इकाई अध्यक्ष सूर्यदेव दासको अध्यक्षता र सचिव तिलबहादुर हिस्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।