महिला संघमा रेग्मी विजयी

1.3K

महिला संघमा रेग्मी विजयी

 uma-regmi

काठमाडौँ, १ असोज ।  नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी विजयी हुनुभएको छ ।  नेपाली कांग्रेसको भगिनी संस्था महिला सङ्घको बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर उम्मेद्वार मीना पाण्डेलाई २ सय २ मतले पराजित गर्दै रेग्मी अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार)१२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि विजयी हुनुभएको थियो । रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई दुई सय दुई मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । रेग्मीले ९९८ र पाण्डेले ७९६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो ।

गिरिजाप्रसाद कोइराला पुत्री सुजातालाई सर्वसम्मत अध्यक्ष बनाउने पौडेल पक्षको प्रयास असफल भएपछि संस्थापन र कृष्ण सिटौला पक्षबाट रेग्मी तथा पौडेल पक्षबाट पाण्डे अध्यक्षको उम्मेद्वार बन्नु भएको थियो । अधिकांश पदमा संस्थापन पक्षका उम्मेद्वार विजयी भएका छन् ।

महासचिवमा संस्थापन पक्षकै धना खतिवडा निर्वाचित हुनुभयो । महासचिवमा खतिवडा ९९८ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गोमा केसीले ७७६ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा जानकी सिंह ९११ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी कुसुमदेवी थापाले ८०३ मत प्राप्त गर्नुभएको छ ।

दुई हजार ११४ मतदाता रहेको उक्त निर्वाचनमा एक हजार ८१४ जनाले मतदान गरेका थिए । कुल ५३ पदका लागि भएको निर्वाचनमा १२६ जना चुनावी मैदानमा उत्रेका थिए । निर्वाचनले सभापति, महासचिव र कोषाध्यक्ष एक एक, खुल्ला केन्द्रीय सदस्य २२, प्रदेश केन्द्रीय सदस्य प्रतिप्रदेशमा तीन जनाका दरले २१, जनजाति र मधेसी तीन तीन तथा मुसलमान एक केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ ।

खुल्ला तथा आरक्षित तर्फको अधिकांश केन्द्रीय सदस्यमा समेत संस्थापन पक्षका उम्मेद्वार विजयी भएका छन् । निर्वाचन समितिका अनुसार निर्वाचित भएकामा ८५ प्रतिशत संस्थापन पक्षबाट रहेका छन् । ११ बर्षपछि भएको महिला संघको यो महाधिवेशन तेस्रो हो ।