राष्ट्रिय औद्योगिक मेला तथा तिहार महोत्सव सुरु

620

राष्ट्रिय औद्योगिक मेला तथा तिहार महोत्सव सुरु

mellllllllllll
बुटवल, कात्तिक । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संविधान कार्यान्वयनकालागि १४ महिना भित्र तीन तहको निर्वाचन अनिवार्य भएकाले सरकारले निर्वाचनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउनु भएको छ ।
आगामी १४ महिना भित्र तीन तहको निर्वाचन हुन नसके मुलुक संकटमा फस्ने उल्लेख गर्दै उहाँले त्यो संकटबाट मुलुकलाई जोगाउनकालागि सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरेको बताउनु भयो ।
नेपाल उद्योग व्यापार संगठन बुटवलले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा तिहार महोत्सवलाई बिहिबार उद्घाटन गर्दै उहाँले मुलुकको समृद्धिको बाटो पनि संविधान कार्यान्वयनसंग जोडिएकाले संविधान कार्यान्वयनकालागि निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
अघिल्लो वर्ष जारी भएको संविधान कार्यान्वयनकालागि नयाँ संरचना निर्माण, नयाँ संरचना अनुसार स्थानीय निकायको निर्वाचन आगामी चैत भित्रै सम्पन्न गर्ने गरी सरकारले काम गरेको मन्त्री महराले बताउनु भयो । उहाँले भन्नुभयो–‘आगामी चैत भित्रमा जसरी पनि स्थानीय निकायको चुनाव गराउने पक्षमा सरकार छ ।’
उहाँले राजनीतिक अस्थिरताका कारण उद्योग व्यापार क्षेत्रको बिकास हुन नसकेको उल्लेख गर्दै ८÷१० वर्षदेखि अनिश्चित रुपमा रहेको संक्रमण काल अन्तिम अवस्थामा पुगेको बताउनु भयो ।
अर्थमन्त्री महराले मुलुकको अर्थतन्त्र सामन्तवादी उत्पादन सम्वन्धबाट पुजीवादी उतपादन सम्वन्धमा बदलीँदै गएको उल्लेख गर्दै मुलुक आर्थिक बिकासमा प्रवेश गरेको चर्चा गर्नुभयो । ‘हामी प्राकृतिक स्रोत साधनमा सम्पन्न छौं, जनशक्तिमा सम्पन्न छौँ ।’ उहाँले भन्नुभयो–‘तर हामीले भएको स्रोत साधन प्रयोग गर्न जानेनौँ, भएको जनशक्ति पनि अनुत्पादक रुपमा खाडीमा छ ।’
उहाँले मुलुक भित्र भएको स्रोत साधन र जनशक्तिलाई अधिकतम रुपमा स्वदेशमै प्रयोग गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । अर्थतन्त्र बिकासकालागि नीजि क्षेत्रलाई वढवा दिनुपर्ने बताउँदै आत्मनिर्भर अर्थतन्त्र अभिबृद्धि गर्नकालागि नागरिक तहबाटै स्वदेशी उत्पादनलाई वढवा दिनुपर्ने उहाँको भनाई छ । त्यस्तै उहाँले सरकारको नियम र रेगुलेसनमा रहेर उद्योग धन्दा तथा व्यापार व्यबसाय सञ्चालन गर्न पनि उद्योगी व्यबसायीलाई आग्रह गर्नुभयो ।
यहि कात्तिकको १५ गते सम्म सञ्चालन हुने उक्त मेलामा बिभिन्न बस्तुगत दश पेभिलियनमा ४ सय २२ स्टलहरु रहेको नेपाल उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खेम श्रीसले बताउनु भयो । उक्त मेलामा १२ करोडको कारोवार गर्ने आयोजकले लक्ष्य लिएका छन् ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष श्याम पाठक, पूर्व अध्यक्ष कृष्णप्रसाद आचार्य, माओवादी केन्द्रका नेता तथा पूर्व साँसद हकिकुल्ला खाँ, साँसद सोनीया यादव, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, नेपाली काँग्रेस क्षेत्र नं. ४ रुपन्देहीका सभापति हरि लम्साल, बुटवल नगरपालिकाका विष्णुप्रसाद खनाल, पश्चिम नेपाल बस व्यबसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, बुटवल उद्योग बाणिज्य संघका खेमबहादुर हमाल, रुपन्देही उद्योग संघका गणेश अधिकारी, व्यापार संघका मोतीलाल पाण्डे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष सेरबहादुर केसी, संगठनका निवर्तमान अध्यक्ष खिमनारायण पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए ।