छ करोडको कृषि आयोजना सञ्चालन गरिने

583

छ करोडको कृषि आयोजना सञ्चालन गरिने

logoचितवन ,२१ असोज । चितवनमा जिल्ला कृषि विकास कार्यालयमार्फत रु पाँच करोड ९३ लाखका कृषि आयोजना सञ्चालन हुने भएका छन् ।

अघिल्लो वर्षभन्दा कृषि कार्यालय चितवनको अख्तियारीमा सञ्चालन हुने बजेट रु दुई करोडभन्दा बढीले घटेको छ । अघिल्लो वर्ष रु ८ करोड ६५ लाखको कृषि आयोजना सञ्चालन भएको थियो ।

विभिन्न अनुदानमूलक कार्यक्रमसहित उक्त आयोजना सञ्चालन हुने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । यो वर्ष माछा, मौरी र च्याउ खेतीका आयोजना घटेको कार्यालय प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

माछाका कार्यक्रम भने केन्द्रबाटै सञ्चालन हुने गरी निर्देशिका आइसकेको उहाँको भनाइ छ । तर माछाको कार्यक्रमका विषयमा छलफल भइरहेकाले केन्द्रबाटै सञ्चालन हुनेगरी कुनै न कुनै कार्यक्रम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गएको वर्ष ८० हेक्टर क्षेत्रफल विस्तारका लागि रु ८० लाख माछामा अनुदान थियो । च्याउ र मौरी विकास कार्यक्रमका लागि रु एक करोड २८ लाख बजेट थियो ।

यस्तै पुराना कार्यक्रम तेलहनबाली विकास, युवा लक्षित तरकारी खेतीलगायत कार्यक्रमले भने निरन्तरता पाएको छ । गएको वर्ष माछा, च्याउ र मौरीमा गएको वर्ष करिब रु दुई करोड बजेट सञ्चालन भएको थियो । भर्खरै कार्यक्रम स्वीकृत भएर आएकाले आयोजना कार्यान्वयनको तहमा जाने प्रक्रिया सुरु भएको घिमिरेले जानकारी दिनुभयो ।

यसवर्ष कृषि प्रसार कार्यक्रमका लागि रु तीन करोड ७६ लाख रकम विनियोजन गरेको छ । अघिल्लो वर्ष रु तीन करोड ४९ लाख बजेट रहेको थियो । यस्तै सहकारी खेती, साना सिँचाइ र मलबीउका लागि रु ५६ लाख, अभियानमुखी कार्यक्रम सञ्चालनका लागि रु ४५ लाख, आलु तरकारी र मसला विकासका लागि रु ४३ लाख ५० हजार र विशेष कृषि उत्पादनका लागि रु ५४ लाख रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।रासस