पशु बीमातर्फ आकर्षण बढ्दो

1.3K

पशु बीमातर्फ आकर्षण बढ्दो

logoपाल्पा, २१ असोज । रामपुर नगरपालिका–८ सानीअमराईका अगुवा कृषक वासुदेव ढुङ्गानाले ब्याउनी भैँसी मरेपछि बीमा बापत रु सोह्र हजार बुझ्नुभयो ।
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थामा कृषक ढुङ्गानाले उक्त भैँसीको रु बीस हजारमा बीमा गर्नुभएको थियो । भैँसी मरेपछि बीमा गरेको रकमको ८० प्रतिशत क्षतिपूर्तिबाट सो रकम बुझ्नुभएको हो ।
“मैले भैँसी मरेकै दिन संस्थामा खबर गरेको थिएँ, त्यसको भोलिपल्टै संस्थाले घरमै क्षतिपूर्ति रकम ल्याएर दियो” उहाँले भन्नुभयो । ब्याउनी भैँसीको क्षतिपूर्ति रकम बुझ्दै उहाँले सहकारीले किसानको हकहितको लागि काम गर्दै आएकाले सबैले आफ्ना पशुबीमा गरी नोक्सानी व्यहोर्नबाट बच्न आग्रह गर्नुभयो ।
रामपुर–९ प्याक्लुकका कृषक रामचन्द्र ढुङ्गानाले रु पचास हजार बराबरको बीमा गरेको लैनो भैँसी मरेपछि रु बत्तीस हजार क्षतिपूर्ति रकम पाएको बताउनुभयो । “सहकारीमा भैँसी बीमा नगरेको भए मेरो रु पचास हजार डुब्थ्यो, बीमा गरेको हुँदा भैँसी मरेपनि ठूलो क्षति भोग्नु परेन” उहाँले भन्नुभयो ।
सहकारीले पशु अनुत्पादक क्षति भइहालेमा पनि क्षतिपूर्ती रकम किसानलाई उपलब्ध गराउँदै आएको छ । रामपुर–७ बेझाडका कृषक गुरुप्रसाद रेग्मीले अनुत्पादक भैँसीको रु पाँच हजार क्षतिपूर्ति रकम बुझ्नुभएको छ ।
संस्थाले अहिलेसम्म बीमा गरेका पशुमध्ये १७ वटाको पूर्ण क्षति र २० वटालाई अनुत्पादक क्षतिपूर्ति रकम किसानलाई दिएको अध्यक्ष कृष्णकुमार अर्यालले बताउनुभयो ।
क्षतिपूर्ति रकम पाइने भएपछि किसानहरु अहिले पशु बीमासहित व्यवसायिक रुपमा पशुपालनतर्फ आकर्षित भएका छन् । सीताकुण्ड दुग्ध उत्पादक सहकारीद्वारा सञ्चालित पशुधन सुरक्षण समितिमा बीमा गरेका किसानको पशु क्षति भइहालेमा क्षतिपूर्ति रकम उपलब्ध गराउन थालेपछि पशु बीमातर्फ किसानको आकर्षण बढेको हो ।
सहकारीले पाँच प्रतिशत प्रिमियम छुटमा घरदैलोमा नै गएर पशु बीमा गर्ने सेवा किसानलाई दिँदै आएको छ । पशु क्षति भइहालेमा किसानको लगानी नडुबोस् र पशुपालन क्षेत्रमा अभिप्रेरित गराउने उद्देश्यले सञ्चालन गरेको पशु बीमा कार्यक्रमले पशुपालक किसानलाई ठूलो फाइदा पुगेको समितिका संयोजक नगिलाल पौडेलले बताउनुभयो ।
संस्थामा पशु बीमा गर्ने किसानलाई सहकारीले एक सेयरसमेत थप गरिदिने भएको छ । विसं २०६३ देखि पशु बीमा कार्यक्रम सुरु गरेको समितिले अहिलेसम्म एक हजार ७७ पशुको बीमा गरेको छ । जसमा भैँसी ७१६, गाई ३८७, बाख्रा ४१ र बङ्गुर २८ वटा रहेको संस्थाका व्यवस्थापक हरिप्रसाद सिग्देलले बताउनुभयो ।
सहकारीले रामपुर नगरपालिकासहित जिल्लाका विभिन्न गाविस तथा नवलपरासी, तनहुँ, स्याङ्जाका विभिन्न स्थानका किसानको घरदैलोमा गई पशु बीमा गर्दै आइरहेको छ । समितिले बीमा गरेका पशुका लागि समयसमयमा जुका, माटेका औषधि तथा विभिन्न रोगका भ्याक्सिन निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको सहकारीले जनाएको छ । रासस