
बुटवल, १६ फागुन । क्यान महासंघ नेपाल, रूपन्देहीको आयोजनामा बुटवल मण्डप बुटवलमा सञ्चालित ‘डिजिकम क्यान इन्फोटेक–२०१७’ सोमबार समापन भएको छ । चारदिनसम्म चलेको विज्ञान तथा प्रविधिको प्रदर्शनीमा एकलाख भन्दा बढी दर्शकले अवलोकन गरेको र दुई करोडभन्दा बढीको आर्थिक कारोबार भएको संघका अध्यक्ष रोशन कंडेलले बताए ।
समापन समारोहमा प्रदर्शनी अवलोकन गर्न आएका विद्यार्थीहरुका लागि व्यवस्था गरिएको करिब तीन लाख पचास हजार रुपैया बरावरको पुरस्कार पनि वितरण गरिएको थियो । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको प्रायोजनमा रहेको उक्त पुरस्कार सहभागी विद्यार्थीहरुको टिकट जम्मा गरी विजेताहरुलाई प्रदान गरिएको हो । समापन अवसरमा इन्फोटेकका मेन स्पन्सर, डायमण्ड स्पन्सर, गोल्डेन स्पन्सर, सिल्भर स्पन्सर र सहभागी स्टलहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी इन्फोटकका दुई उत्कृष्ट स्टल मुइन इन्टरनेशनल, स्टडी एक्सप्रेसलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
समापन समारोह संघका अध्यक्ष रोशन कंडेलको अध्यक्षता र जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ नेपाल रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, बुटवल उपमहानगरपालिकाका बरिष्ठ अधिकृत भुवाप्रसाद लुइटेल, प्याब्सन नेपालका निर्वतमान केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, एनप्याव्सन रुपन्देहीका अध्यक्ष देउप्रकाश राई लगायतले बोल्दै २१ औं शाताब्दी, सूचना र प्रविधिको युगमा क्यान महासंघ रुपन्देहीले आयोजना गरेको इन्फोटेक प्रभावकारी र महत्वपूर्ण रहेको बताउँदै निरन्तरताको कामना गरेका थिए ।
५ नं.प्रदेशलाई नै पहिचान गराउने लक्ष्यका साथ आयोजना गरिएको छैठौं संस्करणको इन्फोटेक सभ्य र सफल भएको बताउँदै आगामी वर्षहरुमा पनि निरन्तरता दिने क्यान महासंघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देहीका संस्थापक नवराज कुँवरले बताए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सञ्जु पौडेलले गरेकी थिइन् ।