सप्तरी घटनाको विरोधमा रुपन्देही बन्द

381

सप्तरी घटनाको विरोधमा रुपन्देही बन्द

बुटवल, २९ फागुन । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज रुपन्देही बन्द आह्वान गरेको छ । मोर्चा रुपन्देहीले विज्ञ्प्ती जारी गरी सप्तरी घटनाको विरोधमा रुपन्देही बन्द गरिएको जनाएको छ ।

फागुन २३ गते सप्तरी घटनामा मारिएकालाई सहिद घोषणा, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाईतेको निःशुल्क उपचार, घटनाका दोषीलाई कारवाही माग गर्दै मोर्चाले रुपन्देही बन्द आह्वान गरेको हो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देही संयोजक महेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टी रुपन्देही अध्यक्ष अजय वर्मा र सद्भावना पार्टी रुपन्देही संयोजक मनमोहन चौधरीद्वारा संयुक्त रुपमा जारी विज्ञ्प्तीमा फागुन २९ गते रुपन्देही बन्द आह्वान गरिएको छ । विज्ञ्प्तीमा यातायात, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना, संघ/संस्था, व्यापार बन्द गरी सहयोग गर्न आग्रह गरिएको छ ।

सप्तरी घटनामा प्रहरीले गोली चलाउदा पांच जनाको मृत्यु भएको छ । शनिवार सप्तरी घटनामा मारिएकाको शव यात्रा गरिएको थियो । सप्तरीमा एमालेको मेची महाकाली अभियान अन्र्तगतको सभामा मधेशीको भिड प्रवेश गर्न खोज्दा झडप भएको थियो । आज पनि भैरहवामा एमालेको मेची महाकाली अभियान अन्र्तगत सभा राखिएको छ । यस क्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने एमाले नेताहरुले भैरहवामा धेरै जनसमुदाय उतार्ने बताउदै आएका छन् ।

एमाले जसरी पनि शक्ति प्रदर्शन गर्ने र मधेशी मोर्चाले बन्द आह्वान गर्दा यहां पनि असहज परिस्थिती सृजना हुन सक्छ । सप्तरी घटनाबाट आक्रोशित बनेको मधेशी मोर्चाले एमालेको अभियान अन्र्तगतकै तालिका अनुसार भैरहवामा राखिएको सभा लक्षित रुपन्देही बन्द गर्नुलाई संयोग मात्र मान्न सकिन्न ।