‘अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धराशायी’

2.9K

‘अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धराशायी’

बुटवल,२६ चैत । अस्वस्थ प्रतिस्पर्धाका कारण ग्रिल व्यवसायी धराशायी हुदै गएको व्यवसायीहरुले बताएका छन् । व्यवसायलाई मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न छुट्टै ग्रिल जोन बनाउनुपर्ने कुरामा समेत उनिहरुले जोड दिए ।

आज बुटवलमा आयोजित ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीको पाँचौ साधारण सभामा बोल्दै प्रमुख अतिथि ग्रील तथा स्टील व्यवसायी महासंका केन्द्रीय सदस्य एवं रुपन्देहीका संस्थापक अध्यक्ष अशोक वर्माले ग्रील व्यवसायको दीगो विकास र संरक्षणका लागि ग्रील जोन स्थापना अपरिहार्य रहेकोमा जोड दिए । उनले मोतिपुरमा बन्ने औद्योगिक क्षेत्रमा ग्रील जोन स्थापना गर्नु उपयुक्त हुने धारणा समेत राखे । उनले ग्रील जोन स्थापना गरी सबै व्यवसायीलाई एकत्रित गर्नसके व्यवसाय मर्यादित हुनुका साथै अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने बताए ।

संघका जिल्ला अध्यक्ष दिलबहादुर रानाले जिल्लामा करिब तीनसय पचास ग्रील तथा स्टील व्यवसायी रहेका जानकारी गराउंदै छुट्टै ग्रील जोनको अभावमा छरिएर व्यवसाय गर्नुपर्दा वातावरण प्रदुषण, अस्वस्थ प्रतिस्पर्धा, दक्ष जनशक्तिको अभाव, लोडसेडिङ जस्ता समस्याहरु झेल्नुपरेको चर्चा गर्दै ग्रील जोन स्थापनामा जोड दिए । उनले व्यवसायिक सुरक्षा र उपभोक्तालाई पनि हित हुने गरी संघले कार्यक्रम बनाएर काम गर्ने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी संघ रुपन्देहीका निवर्तमान अध्यक्ष धर्म भण्डारी, निवर्तमान महासचिव तुल्सी खनाल,सल्लाहाकारहरु तुलबहादुर सारु, ऋषिराम घिमिरे, भुवन ज्ञवाली, रुपन्देही उद्योग संघका सदस्य प्रेम आले, संघका फर्साटिकट इकाई अध्यक्ष बालकृष्ण पराजुली, तिलोत्तमा इकाई अध्यक्ष श्याम केसी., सैनामैना इकाई अध्यक्ष युवराज कार्की, बुटवल उपसमिति अध्यक्ष विक्रम बिश्वकर्मा लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

साधारणसभामा अध्यक्ष दिलबहादुर रानाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्रकान्त न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका महासचिव शिव गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद खनालले गरेका थिए ।