बुटवल,असार । पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराले पश्चिम क्षेत्रअन्तर्गत प्रदेश नम्वर ५ मा पर्ने लुम्बिनी अञ्चलका छ जिल्लामा यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्था तयार भएको जनाएको छ । पश्चिम क्षेत्र अन्तरगत पाँच नं. प्रदेशका स्थानीय तहमा निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात गर्नुपर्ने कामको सम्पूर्ण तयारी पुरा भएको प्रहरी नायव महानिरिक्षक मुधुप्रसाद पुडासैनीले जानकारी गराउनु भयो ।
सुरक्षा समितिले निर्वाचन बहिस्कार गर्ने, बिरोध गर्ने, बाढी पहिरो जस्ता कारणबाट हुनेसक्ने संभावित क्षती हुन नदिनका लागि तीन प्रकारको सुरक्षा रणनीति बनाएर सोही अनुसार पूर्व सूचना संकलन गर्ने र सोही अनुसारको सुरक्षा प्रवन्ध मिलाईएको उहाँले बताउनु भयो । सुरक्षाको पूर्ण प्रवन्ध मिलाएको बताउँदै उहाँले आम मतदातालाई ढुक्क भएर निर्वाचनमा सहभागि हुन पनि आह्वान गर्नुभयो । निर्वाचनको विषयलाई लिएर असन्तुष्ट पक्षबाट भएको बिरोधका कार्यक्रमलाई नियन्तरण गर्ने क्रममा १४ जनालाई प्रहरीले मुद्धा चलाएको छ । त्यस्तो कृयाकलापमा संलग्न ८६ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उहांका अनुसार संवेदनशीलताका आधारमा मतदानस्थलमा सातदेखि २३ जनासम्म प्रहरी तथा म्यादी प्रहरी परिचालन गरिएको छ । यस क्षेत्रमा सात हजार २८० जना प्रहरी र सात हजार ८७५ म्यादी प्रहरी परिचालन गरिएको छ ।
कुल १४ लाख दुई हजार ५७१ मतदाता रहेका लुम्विनी अञ्चलका छ जिल्लाभित्रका कूल ९ सय १० मतदान स्थल र ८ सय ७७ मतदान केन्द्र रहेकामा ३४६ अति संवेदनशील, २४५ संवेदनशील र सामान्य ३९१ मतदानस्थल रहेका छन् । सुरक्षा व्यवस्थालाई मजबुत बनाउन निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् गर्नुपर्ने सुरक्षा रणनीति तय गरिएको छ । त्यस्तै प्रहरीले निर्वाचन बिरोधी समुह तथा निर्वाचन वहिस्कार गर्नेमाथि निगरानी बढाएको जनाएको छ । त्यस्तै प्रहरीले मौन समयमा आचार संहिता उल्लंघन हुन नदिनकालागि विशेष सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । निर्वाचन सुरक्षालाई लक्षित गरेर सिमा सुरक्षा समितिले रुपन्देही, कपिलवस्तु र नवलपरासीका सिमा नाका आईतबार बिहानदेखि १४ गते साँझ ७ वजेसम्मका लागि बन्द गरेको छ ।
लुम्बिनी अञ्चलका ६ जिल्लामा कूल १३ हजार ३ सय ९१ जना मध्ये १३ हजार २ सय ४२ जना उम्मेदवारहरु निर्वाचनमा सहभागी भएका र जसमा प्रमुख ५ सय १६, उपप्रमुख ४ सय २८, वडा अध्यक्ष २९७५, सदस्य ४८९७, महिला सदस्य २३२९ र महिला दलित २०९७ जना रहेका छन् । उम्मेदवारी दिएका मध्ये विभिन्न पदका १ सय ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् भने नवलपरासीमा ४ जना सदस्य पदका उम्मेदवार निर्विरोध भएका छन् ।
स्थानीय तहको जनप्रतिनिधिमा निर्वाचित हुने कूल २९ सय २२ उम्मेदवार मध्ये प्रमुख÷उपप्रमुखमा ६१, वडा अध्यक्ष ५सय ६०, सदस्य ११२०,महिला सदस्य ५सय ६० र महिला दलित सदस्य ५६० जना निर्वाचित हुनेछन् ।