बुटवल, असार । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पहुनी स्थित मोक्षधाम सेवा आश्रममा आगामी साउन महिनामा बृहत शिवपुराण महायज्ञ सञ्चालन गरिने भएको छ ।
उक्त महायज्ञ सञ्चालनकालागि तयारी तिब्र पारिएको छ । साउन महिना शिव महिना पनि भएको र शिव महिमा सहित धाममा शिवपुराण महायज्ञ गर्न लागिएको हो । उक्त शिव पुराण महायज्ञ सहितको श्रावणी मेला सफल रुपमा सम्पन्न गर्नकालागि बिभिन्न समितिहरु बिस्तार गर्ने सहितका तयारीका काम तिब्र पारिकाएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी दिनुभयो ।
महायज्ञ तयारीकै क्रममा बुधबार रुपन्देहीमा क्रियाशिल लायन्स क्लवहरुको भेला भएको छ । भेलाले मोक्षधाममा धार्मिक जागरण ल्याउन र धार्मिक पर्यटकहरु भित्र्याउनकालागि भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उक्त एक महिने धार्मिक महोत्सवमा लायन्स क्लवको सञ्जालले स्वयम् सेवकको भूमिका निर्वाह गर्ने भएका छन् ।
धाम व्यबस्थापन समितिले शुक्रबार तिलोत्तमा नगरपालिकाबाट नव निर्वाचित जनप्रतिनीधिलाई सम्मान गर्ने कार्यक्रम समेत आयोजना गरेको छ ।
आशुतोष भगवान शिवजीको प्रिय महिना साउनभरी शिव महिमा सम्बन्धि सांगितिक आध्यात्मिक प्रवचन, श्रावणी मेला, अखण्ड जलधारा, रुद्राभिषेक एवं शिव भजनकृतन सहित मनाउन लागिएको मोक्षधाम सेवा आश्रमका कोषाध्यक्ष बञ्जाडेले बताउनु हुन्छ ।
२०६८ सालमा स्थापना गरिएको मोक्षधाममा हालसम्म राधाकृष्ण मन्दिर, सन्त आश्रम, सत्संग हल, बृद्धाश्रम, कुरुकुल आश्रम, १०८ शिवलिंग सहितको विश्वनाथ मन्दिर, मुक्तिनाथ मन्दिर निर्माण भईसकेको छ भने अमृत कुण्ड, १००८ शिवलिंग सहितको द्वादश ज्योतिर्लिंग निर्माणाधिन अवस्थामा रहेको र श्रावणी मेला अगावै निर्माण पुरा गरिने आश्रमले जनाएको छ ।
भारतमा रहेका प्रशिद्ध बद्रिनाथ, रामेश्वर, द्वारिकाधिस, जगन्नाथपुरी तथा नेपालमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी र जनकपुरधाम गरी आठ धाम बनाउने र रुपन्देहीलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा बिकास गर्ने लक्ष्य सहित मोक्षधाम सेवा आश्रमको बिकास गरिएको थियो । सोही अनुसार आगामी साउनमा गर्न लागिएको श्रावणी मेला सहितको शिवपुराण महायज्ञमा दश लाख धार्मिक पर्यटक आउने आश्रमले अपेक्षा गरेको छ ।