दुर्घटना न्यूनिकरणकालागि ‘चालकसंग तीन मिनेट’

1.3K

दुर्घटना न्यूनिकरणकालागि ‘चालकसंग तीन मिनेट’

बुटवल, २४ असार । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले दुर्घटना न्यूनिकरणकालागि चालकसंग तीन मिनेट कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सवारी साधनको गति तिब्र गर्ने र अनियन्त्रित ओभरट्रयाक गर्ने कारण दुर्घटना बढेको बताउँदै त्यसलाई निरुत्साहित गर्नकालागि चालकसंग तीन मिनेट कार्यक्रम गर्न लागिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक कृष्णहरी शर्माले बताउनु भयो ।
उक्त कार्यक्रम अनुसार ट्राफिक प्रहरीले सडकमा सवारी साधनलाई तीन मिनेट रोक्ने र तिब्र गतिमा सवारी साधन नचलाउन तथा कन्फिडेन्स नभई ओभरट्रयाक नगर्न तालिम प्रदान गरिने आज कार्यालयमा पत्रकार सम्मेलन गरी उहाँले जानकारी गराउनु भयो ।

त्यस्तैगरी प्रहरीले एक महिने जनचेतनामुलक कार्यक्रम गर्ने तयारी गरेको छ । पहिलो चरणमा असार मसान्तसम्म सरोकारवालासंग अन्तरक्रिया गर्ने, दोस्रो चरणमा साउनको पहिलो हप्ता पैदलयात्रीलाई सडकको प्रयोग सम्बन्धि जानकारी गराउने, तेस्रो चरणमा साउनको दोस्रो हप्ता बालबालिकालाई दुर्घटनाका बारेमा जानकारी गराउने तथा जनचेतना प्रदान गर्ने र अन्तिम चरणमा साउनको तेस्रो हप्ता युवा अभियान सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार २० सम्म सवारी दुर्घटनामा मृत्यु भएका ५४२ जना मध्ये २३२ जना मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ । त्यसमध्ये अधिंकाश दुर्घटना चालकका लापरवाहीले भएको प्रहरीले जनाएको छ । ८७.५ प्रतिशत चालकको लापरवाहीले दुर्घटना भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।

त्यस्तै १० प्रतिशत यान्त्रिक गडबडीबाट दुर्घटना हुने गरेको छ । प्रहरी उपरिक्षक शर्माले भन्नुभयो–‘चालकलाई सुधार गर्न सकियो भने ९७ प्रतिशत दुर्घटना रोक्न सकिन्छ ।’ चालकको लापरवाही र यान्त्रिक गडबडीबाट हुने दुर्घटना रोक्न सकिने दुर्घटना भएकाले त्यसलाई रोक्न प्रहरीले प्राथमिकताका साथ उच्च गति र अनियन्त्रित ओभरट्रयाकलाई नियन्त्रण गर्ने अभियान सुरु गरिएको प्रहरी नायव उपरिक्षक अवदेश विष्टले बताउनु भयो ।
चालु आर्थिक वर्षको हालसम्म पश्चिम क्षेत्रमा भएका ९०५ दुर्घटना मध्ये ३१८ वटा दुर्घटना तिब्र गतिका कारण भएका छन् । जुन कुल दुर्घटनाको ३५ प्रतिशत हो ।
पश्चिमाञ्चलमा क्षेत्रका १६ जिल्ला मध्ये सबैभन्दाबढी दुर्घटना नवलपरासी र तनहुँमा हुने गरेका छन् । यी दुई जिल्लाको दुर्घटना घटाउनकालागि प्रहरीले अध्ययन तथा छलफल भईरहेको जनाएको छ । नवलपरासीको दाउन्नेमा अत्यधिक दुर्घटना हुने र ओभरट्रयाकका कारण अधिकांश दुर्घटना भएकाले दाउन्नेलाई ‘नो ओभरट्रयाकिङ् रोड बनाउने बिषयमा छलफल भईरहेको प्रहरी उपरिक्षक शर्माले बताउनु भयो ।