बुटवल, ३ भदौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बालकृष्ण खाँणले संविधान निर्माण प्रकृयाबाट बाहिरिएका मधेशी दललाई संविधानको दायरामा कसरी ल्याउन सकिन्छ भन्नेमा नेपाली काँग्रेस प्रयत्नशिल रहेको बताउनु भएको छ । उहाँले संविधानको स्वीकार्यता फराकिलो बनाउनकालागि नेपाली काँग्रेसले मधेशी दललाई संविधानको दायरामा ल्याउने प्रयत्न गरेको बताउनु भएको हो ।
शंकरनगर खानेपाली उपभोक्ता तथा सरसफाई संस्था तिलोत्तमा २ रुपन्देहीको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले रुपन्देही नवलपरासी र कपिलबस्तुको पानीको स्रोत सुक्न नदिनकालागि कालिगण्डकीको पानी तिनाउ नदिमा ड्राईभर्सन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । त्यसका लागि आफू प्रयत्नशिल रहेको पनि बताउनु भयो । ‘लुम्बिनी अन्तर्राष्ट्रिय रुपमा पर्यटनको केन्द्र बनेको छ ।’ उहाँले भन्नुभयो–‘लुम्बिनीको पर्यटन बिकासकालागि पनि पानीको स्रोत व्यबस्थापन गर्न जरुरी छ ।’
कालिगण्डकीलाई यस क्षेत्रको पानीको स्रोत बनाउने हो भने लुम्बिनी अञ्चलका पहाडी जिल्ला छुट्याउन नहुने बताउनु भयो । उहाँले मुलुकको पूनसंरचना अनुसार स्थानीय तहको निर्वाचन पनि सम्पन्न भईसकेकाले पाँच नं. प्रदेश सिमांकनका बिषयमा नयाँ बहस गर्न नहुने बताउनु भयो । कालिगण्डकीको पानी तिनाउमा ल्याउन सके खानेपानी, सिचाई, जलबिहार, हाईड्रो बहु परियोजना सञ्चालन हुने बताउनु भयो ।
त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य लिला गिरीले बिस्तारै पानीको स्रोत सुक्दै जाने र जमिन मुनिको पानीको सतह समेत घट्दै जाने भएकाले दीर्घकालिन हुनेगरी पानीको समुचिन व्यबस्थापन गर्न आवश्यक रहेको बताउनु भयो ।
सोही अवसरमा संस्थामा राम्रो काम गर्ने कर्मचारीहरुलाई सम्मान गर्नुकासाथै मासिक सरसफाई कार्यक्रममा उत्कृष्ट हुने समुहलाई पुरस्कृत गरिएको थियो । संस्थाले ९ वटा क्षेत्र विभाजन गरी मासिक सरसफाईको कार्यक्रम गर्दै आएको छ । त्यसमध्ये क्षेत्र नं. ५ प्रथम, क्षेत्र नं. ३ द्विती र क्षेत्र नं. २ तृतीय भएका थिए । उनीहरुलाई क्रमश ५ हजार, ४ हजार र ३ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष हरिप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार यमबहादुर खत्री, आनन्दवन शंकरनगर खानेपानी संस्थाका अध्यक्ष केशवराज न्यौपाने, सल्लाहकार तथा पूर्व अध्यक्ष ईश्वरी गिरी, खानेपानी महासंघका अध्यक्ष ध्रुवकुमार धिताल, एमालेका यज्ञ गैरे, माओवादी केन्द्रका लक्ष्मण खनाल, जनमुक्तिकी राधिका श्रीस, जनमोर्चाका दयानिधी पौडेल, कृष्णप्रसाद पन्थी, विष्णुप्रसाद न्यौपाने, राममायाँ अर्याल लगायतले भनाई राखेका थिए ।
कार्यक्रममा अध्यक्ष हरिप्रसाद तिवारीले संस्थाको प्रतिवेदन र कोषाध्यक्ष शरिता थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सचिव सावित्रा पन्थीले जानकारी दिनुभयो ।