रुपन्देहीबाट ६२ हजार मतदाता थपिए

1.3K

रुपन्देहीबाट ६२ हजार मतदाता थपिए

बुटवल, भदौ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीबाट अहिले करिव ६२ हजार मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
निर्वाचन आयोगले गत साउन एक गतेदेखि जिल्ला निर्वाचन कार्यालय र १६ गतेदेखि जिल्ला निर्वाचन कार्यालय सहित स्थानीय तहमा मतदाता नामावली संकलन गरेको थियो ।

उक्त समयमा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेको भिड रहिरेपछि तीन दिन थप गरेर भदौको ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराईएको थियो । उक्त समयमा रुपन्देही जिल्लाबाट करिव ६२ हजार मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख होमनाथ गौतमले जानकारी दिनुभयो ।

यद्यपी यो संख्या रुपन्देही जिल्लाका मात्रै मतदाता भने होईनन् । निर्वाचन आयोगले जहाको मतदाता भएपनि आफू पाएक पर्ने जिल्ला निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने सुविधा उपलब्ध गराएको थियो । सोही अनुसार आफू अनुकुल हुनेगरी देशै भरीका मतदाताले जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराएका थिए ।

रुपन्देही जिल्लामा एक उपमहानगरपालिका, ५ नगरपालिका र १० गाउँपालिका गरी १६ स्थानीय तह छन् । फोटो सहितको मतदाता नामावली संकलनकालागि निर्वाचन आयोगले प्रत्येक स्थानीय तहमा टोली परिचालन गरेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा फोटो सहितको मतदाता नामावलीमा नाम छुटेको संख्या धेरै भएकाले फोटो सहितको नामावली संकलनमा निकै भिडभाड भएको थियो । यद्यपी अझै पनि धेरै मतदाता फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका राजनीतिक दलका नेताहरुले बताएका छन् ।