अदृश्यशक्तिद्वारा कपालमा हमाला, महिला आतंकित

1.3K

अदृश्यशक्तिद्वारा कपालमा हमाला, महिला आतंकित

कृष्णप्रसाद ढकाल
भैरहवा, ७ भदौ । तराईक्षेत्र रुपन्देही र कपिलवस्तुका महिलाहरु आतंकित बनेका छन् । रहस्यमयढंगले अदृश्यशक्तिले हमाला गरी कपाल काटिदिएको घटना बढेपछि यसक्षेत्रका महिलामा आतंक मच्चिएको हो ।

पन्देही र कपिलवस्तुका ५० भन्दा बढी महिलाको कपाल रहस्यमयढंगले अदृश्यशक्तिले काटिदिएको छ । पीडित महिलाका अनुसार कसैलाई बेहोस बनाएर रहस्यमय तरिकाले कपाल काटिदिएको हो । प्रहरी एवं स्वास्थ्यकर्मीको टोलीले यस विषयमा अनुसन्धान थाले पनि कपाल कसले काटेको हो भन्ने प्रष्ट जवाफ दिनसकेका छैनन ।

‘श्रीमानले तिम्रो कपाल काटेछ भन्नुभयो ।’ सिद्धार्थनगर नगरपालिका डाडागाउ निवासी ३५ वर्षीय गिता ज्ञवालीले भन्नुभयो–‘कपाल काटेको देखेपछि हामी आतियौं र प्रहरीलाई खवर गर्यौँ, प्रहरीले तपाई डराउनुपर्दैन वेहोस हुनुभएको छैन, राम्रैसंग बोल्नुभएको छ नआतिनिुहोस् भने ।’
त्यो घटनापछि आफूलाई निद्रा नलागेको बताउँदै ज्ञवालीले भारतमा यस्तो घटना भएको आफूले सुनेको तर यहाँ पनि यस्तो हुन्छ भन्ने नसोँचेको बताउनु भयो ।
यस्तो ‘काल्पनिक हजाम’ को पहिलो समाचार भारतबाट आएको थियो । तर यस्ता खबर अब नेपालको रुपन्देही कपिलवस्तुलगायत तराईका जिल्लामा पनि आउन थालेका छन् । अर्की एक महिला ओमसतिया गाउपालिका ६ की सावित्री जयसवालले पनि बुधवार नै आफ्नो कपाल गुमाइन् । सावित्रीमाथि भएको सो घटनालगत्तै पिडित महिला र परिवारका अन्य सदस्य भैरहवास्थित भिम अस्पताल आएका छन् ।
‘फेस बुक र समाचारहरुबाट कपाल काटेको हल्ला व्यापक सुनेका थियौं, विस्वास लागेको थिएन । तर आज आफ्नै श्रीमतीमाथि अदृश्य हजामले हमला गरेर कपाल खौरीदियो ।’ कृष्ण ज्ञवालीले घटना सम्झदै भन्नुभयो–‘यो घटना रहस्यमय छ, अनुसन्धान गरि वास्तविकता पता लगाउनपर्छ ।’

१० सेकेन्ड जतिमा वेहोस हुने र कपाल काट्ने सबै कुरा भइसक्छ । लुम्विनी सास्कृतिक नगरपालिका, गैडहवा गाउपालिकामा पनि यस्तै घटना भएको कुरा प्रहरी एवं अस्पतालका स्वास्थ्यकर्मीले प्रकाशमा ल्याएका छन् । यस्तो कुराले तपाईंलाई पत्यार नलाग्ला ! तर रूपन्देहीको सीमा क्षेत्रमा दुई युवतीको स्वतःस्फूर्त ढंगले कपाल काटिँदा मुर्छित भएको अपत्यारिलो घटनाले बाहिर आएको छ । रूपन्देही र कपिलवस्तुका गाउ शहरमा अदृश्य शक्तिले महिलाका कपालमाथि हमला भएका घटनाहरु दिनप्रतिदिन बढेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह बस्ने किशोर यादवको छोरी १९ बर्षीया गंगा यादवको बिहानै सात बजे अकस्मात कपालको टुप्पो कटेर खसे पछि अचेत वनेकी उनको सिमावर्ती भारतको कक्रहवास्थित नीजि क्लिनिकमा उपचार भइरहेको छ । यसैगरी सोही गाउँका घरभरन यादवककी छोरी २१ बर्षीय बबिताको कपाल काटिएर भूईमा झरेपछि अचेत भएको पारिवारका सदस्यले बताए ।
बिरामी यादवको बोली बन्द भई सक्दा पनि ईशाराले टाउको दुख्ने प्रतिक्रिया जनाएपछि सामान्य रूपमा सलाईन पानी चढाउने गरेको उपचारमा संलग्न चिकित्सिक मोहम्मद जमाले बताउनु भयो ।

सवैभन्दा वढी लुम्विनी साँस्कृतिक नगरपालिकाका महिलाको कपाल काटिए पिडित वनेका छन् । लुसाप २ भुजहिया निवासी प्रहलाद यादवको बुहारी ३५ बर्षीया शान्ती यादव, वडा नं. ७ की सुमित्रा गोसाई, १३ की पूजारी यादवको १६ बर्षीया छोरी अनिता यादव, ओडवलियाका राजेश यादवको श्रीमती चन्द्रकला यादव, समरीमाई गाउँपालिका वडा नं. ३ थुम्हवा पिपरहवा निवासी ४० बर्षीया मैना धवलको पनि रहस्मयढंगले अदृश्यशक्तिले अकस्मात कपाल काटिदिएको घटना भाईरल वनेको छ । केही पिडित महिला डराएर अचेत भएपछि प्रहरी तथा स्थानीयको सहयोगमा एम्बुलेन्सबाट भीम अस्पताल भैरहवा पठाइएको प्रहरी चौकी कालीदहका ईन्चार्ज चिन्तामणी न्यौपानेले बताउनु भयो ।
अकस्मात कपाल काटिएको घटनाले बिरामीहरू त्रसित भई सकेपछि सामान्य सलाईन पानी चढाए पछि कातिपय निको भई घर फर्कि सकेको र केही महिला बिरामीहरूको उपचार जारी रहेको उपचारमा संलग्न भीम अस्पताल ईमजेन्सी फाटका स्वास्थ्यकर्मी गणेश काफ्लेले बताउनु हुन्छ ।
अकस्मात महिलाहरूको कपाल काटिएर भूईमा झर्ने बित्तिकै मुर्छित हुने घटनाको यथार्थ कुरा बारे भीम अस्पतालका मेडिकल अधिकृत अनन्त शर्मा सँग जिज्ञासा राख्दा उनले रोग बारे अनुसन्धान भईरहेको हँुदा प्रमाणित भएपछि मात्र प्रतिक्रिया दिने बताउनु भयो ।

यो विचित्र घटना हो, हामीले घटनास्थलबाट कुनै तथ्य फेला परेको छैन । पीडितको मेडिकल टेस्टमा पनि कुनै प्रकारको असामान्य लक्षण देखिएको छैन । कसैले कथित हमलाकारीलाई नदेख्नुबाट पनि अनुसन्धानमा जटिलता भएको प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले बताए ।
जिल्ला प्रहरी कार्यालयले कपाल काट्ने यसकिसिमको हल्ला मात्रै नभई घटनाका धेरै उजुरी प्राप्त भएकोले यसमाथि गंभिरढंगले छानविन भइरहेको जनाएको छ । काटिएको कपालको ठुटापनि अनुसन्धानका लागि केन्द्रीय प्रयोगशालामा पठाएको प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिनुभयो ।