प्रधानमन्त्री देउवालाई भारतमा स्वागत

469

प्रधानमन्त्री देउवालाई भारतमा स्वागत

नयाँदिल्ली, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा बुधबार नयाँ दिल्ली आइपुग्नुभएको छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आउनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो । अपरान्ह ३ बजे उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुभयो । साँझ ७.३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई प्रधामन्त्री देउवाले सम्बोधन गर्नुभयो ।

भारत प्रस्थान गर्नुअंघि प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गर्नुभएको थियो ।

प्रधानमन्त्रीले बिहीबार बिहान राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नुहुनेछ । त्यसपछि महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग बिहीबारै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराजले शिष्टाचार भेट गर्नुहुनेछ भने त्यसलगत्तै हैदरावाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता हुनेछ ।

दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ । वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्नुहुनेछ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ ।

दुवै देशका प्रधानमन्त्रीले सञ्चारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्नुहुने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनुहुनेछ । सोही दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ । त्यसैगरी, नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कनु हुनेछ । रासस