‘सुगम रुपन्देही खुल्ला दिसा मुक्त नहुनु आश्चर्य’

1.3K

‘सुगम रुपन्देही खुल्ला दिसा मुक्त नहुनु आश्चर्य’

बुटवल, १३ भदौ । खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादबले सुगम र सुविधा युक्त जिल्ला भएपनि रुपन्देही अझै खुल्ला दिशामुक्त हुन नसक्नु आश्चर्य भएको बताउनु भएको छ ।

शंकरनगर–आनन्दवन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १५ औं साधारण सभामा बोल्दै उहाँले बाहिरबाट हेर्दा रुपन्देहीलाई नेपालको युरोपियन जिल्ला मान्ने गरेको सुनाउनुभयो । जिल्लाका साविक ३ वटा गाविसका कारण रुपन्देही अझै खुल्ला दिशामुक्त घोषणा हुन सकेको छैन ।

उहाँले सन २०३० सम्म मुलुकभर पूर्ण स्वच्छ खानेपानी पु¥याउने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताउनुभयो । मन्त्री यादबले खानेपानीलाई स्वच्छ बनाउने प्युस लगायतका चक्की सरकारले निशुल्क वितरण गर्ने योजना बनाएको जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणले राजनीतिक दलहरु मिलेर मुलुक शान्ति प्रक्रियाममा आएकाले अब विकासको लागि पनि सबै एक ठाउँमा आउनुपर्ने बताउनु भयो । उहाँले बढी बजेट विनियोजन हुने जिल्ला मध्ये रुपन्देही पनि एक भएको भन्दै विनियोजित बजेट खर्च नहुँदा आफूहरुलाई चिन्ता लालेको बताउनु भयो ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेब घिमिरेले नगरमा स्वस्छ खानेपानीको व्यवस्थामा नगरपालिका सँधै तत्पर रहने बताउनुभयो । कार्यक्रममा उपभोक्ता संस्थाका अध्यक्ष केशबराज न्यौपाने संस्थाको लागि स्काडा प्रविधी सञ्चालनको लागि सरकारसँग माग गर्नुभयो । यो प्रविधीले कुन पाईपलाईनमा कति पानीको माग छ, कति आपुर्ति भएको छ । कहाँ कति खपत भयो, कहाँ चुहावट भयो भन्ने विवरण कम्प्युटरमा रेकर्ड राख्न सकिन्छ ।

कार्यक्रममा खानेपानी मन्त्रालयकी उपसचिव मिरा श्रेष्ठ, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका अध्यक्ष ध्रुवकुमार धिताल लगायत संस्थाका सल्लाहकार, विभिन्न संघ संस्थाका प्रमुखहरुले धारणा राखेका थिए ।