‘बसको छत किन फाल्नु पर्यो, कारण देखाउ’

1.3K

‘बसको छत किन फाल्नु पर्यो, कारण देखाउ’

बुटवल, १४ भदौ । सार्वजनिक सवारी साधनको छतमा सामान राख्ने क्यारियर हटाउने सरकारी निर्णय विरुद्ध बुटवलका यातायात व्यबसायीहरुले दायर गरेको रिटमा सर्बोच्च अदालतले विपक्षिका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

व्यबसायीहरुले विपक्षि निकायबाट उक्त निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा व्यबसायी वा त्यसका पेशागत संगठनहरुलाई पत्राचार वा कुनै सर्कुलर जारी गरिएको भए सो बदर गर्न र त्यस्ता पत्र जारी नगरिएको भए जारी गर्ने सम्भावना भएको हुँदा जारी नगर्ने आदेश गरिपाउँ भनी यहि भदौको ९ गते सर्बोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको सुनुवाई गर्दै सर्बोच्चले भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालय, यातायात व्यबस्था विभाग, यातायात व्यबस्था कार्यालय लुम्बिनी र प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयलाई कारण देखाउ आदेश दिएको हो ।

सर्बोच्च अदालतका न्यायधिश हरिकृष्ण कार्कीको एकल ईजलासले यहि भदौ ११ गते निवेदकको माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ?, आदेश जारी हुन नपर्ने मुनासिव आधार, कारण र प्रमाण भए सो समेत खुलाई म्याद प्राप्त भएको मितिले १५ दिन भित्र लिखित जवाफ पेश गर्न विपक्षिहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सर्बोच्च अदालतले उक्त मुद्धाको फैसलाको लागि आगामी १९ गते पेशी तोकेको छ ।

सार्वजनिक सवारी साधनको छतको क्यारियर हटाउने सरकारी निर्णय विरुद्ध यातायात व्यबसायीहरु नेपाल लोकतान्त्रिक यातायात व्यबसायी संगठनका केन्द्रीय सदस्य बुटवल ४ का नारायणप्रसाद घिमिरे, नवलपरासी बर्दघाटका चन्द्रज्योती बस्याल, बुटवल १२ का तेजबहादुर क्षेत्री, बुटवल ८ का गोविन्दप्रसाद कंडेल, ६ का पिताम्बर श्रेष्ठ, ११ का ईश्वरीप्रसाद अधिकारी, गुल्मी रुरुका लक्ष्मण गौतम, बुटवल ४ की सविता घिमिरे, तिलोत्तमा नगरपालिका १५ का कृष्ण भण्डारी, बुटवल ६ का सुवासचन्द्र पौडेलले सर्बोच्च अदालतमा मुद्धा दायर गर्नुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयले २०७३ असोज ११ गते गरेको सवारी तथा यातायात व्यबस्था (छैटौं संशोधन) नियमावली २०७३ अनुसार यात्रुवाहक सवारी साधनले यात्रुको झिटिगुन्टा बाहेक मालसामान बोकेमा, ऐन विपरित यातायात सेवा सञ्चालन गरेमा, बाटो इजाजत पत्र नलिई यातायात सेवा सञ्चालन गरेमा, सार्वजनिक सवारी साधनले नियम लागु भएको तीस दिन भित्र यात्रुवाहक सवारीको छतमा रहेको सामान राख्ने क्यारियर नहटाएमा अधिकार प्राप्त अधिकारीले बढीमा ६ महिना सम्मको बाटो इजाजत पत्र निलम्बन गर्न सक्ने अधिकार प्रदान गरिएको थियो ।

तत्कालिन समयमा उक्त नियम लागु भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन । निर्णय भएको करिव एक वर्षपछि यातायात व्यबस्था विभागले ट्राफिक निर्देशनालयलाई निर्णय कार्यान्वयन गराउन गत साउन ८ गते पत्राचार गरेपछि यातायात व्यबसायीहरु यो निर्णयको बिरोधमा उत्रेका हुन् ।

विभागको परिपत्रपछि यातायात व्यबस्था कार्यालयले नियमावली अनुसार छतको क्यारियर नहटाएका सार्वजनिक सवारी साधनको जाँचपास र नामसारी रोकेको छ । नियमावली अनुसार सवारी साधनको छतमा रहेको क्यारियर हटाएका सवारी साधनको जाँचपास र नामसारी भईरहेको यातायात व्यबस्था कार्यालय लुम्बिनीका कार्यालय प्रमुख उपसचिव चेतप्रसाद उप्रेतीले बताउनु भयो ।

सर्बोच्च अदालतले विपक्षिका नाममा कारणदेखाउ आदेश जारी गरेपछि नेपाल लोकतान्त्रिक यातायात व्यबसायी संगठन रुपन्देहीले बुधबार बुटवलमा सोही विषयमा अगुवा कार्यकर्ता भेला गरेको छ । कार्यकर्ता भेलामा एमालेका जिल्ला कमिटि सदस्य तथा व्यबसायी ईञ्चार्ज नारायण भट्टराई, संगठनका केन्द्रीय सल्लाहकार सूर्यबहादुर भट्टराई, संस्थापक उपाध्यक्ष तुलसीराम बञ्जाडे, केन्द्रीय सदस्य नारायण घिमिरे, जिल्ला अध्यक्ष गोविन्दप्रसाद कंडेललगायतले व्यबसायिक हितका लागि व्यबसायिक एकतामा जोड दिएका थिए । भेलापछि व्यबसायीहरुले यातायात व्यबस्था कार्यालय लुम्बिनीका प्रमुख चेतप्रसाद उप्रेतीलाई सो विषयमा ध्यानाकर्षण समेत गराएका थिए ।