बुटवल, १६ भदौ । एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले जसरी भएपनि बुटवललाई नै पाँच नम्बर प्रदेशको राजधानी बनाउने दावी गर्नुभएको छ । उहाँले सहमति भए सहमति मै र सहमति जुट्न नसके प्रदेश सभामा निर्वाचनबाटै भएपनि बुटवललाई नै प्रदेशको राजधानी बनाउने बताउनु भयो । ‘प्रदेशको राजधानी बुटवल हुन्न भन्ने को हो ?’ उहाँले प्रश्न गर्दै भन्नुभयो–‘जसरी भएपनि प्रदेशको राजधानी बुटवल नै हुन्छ ।’
बुटवल उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहकालागि संविधानमा प्रसस्त व्यबस्था भएपनि संबैधानिक मर्म अनुसार ऐन, नियम कानुन नबन्दा जारी संविधान कार्यान्वयनमै जटिलता सिर्जना भएको उल्लेख गर्नुभयो । ‘संविधान त बनायौं, तर संवैधानिक व्यबस्था अनुसार सयौ कानुनहरु बनाउन बाँकी छ ।’ उहाँले भन्नुभयो–‘आवश्यक कानुन नबन्दा स्थानीय तहको हातखुट्टा बाँधिएको छ ।’
जिल्ला समन्वय समितिका प्रमुख एकराज बिकले बजेटले विनियोजित बुटवलको बजेटले सबैलाई नछोएपनि समेट्ने प्रयास भएको बताउनु भयो । उहाँले रुपन्देही जिल्लालाई मेघा सिटीका रुपमा बिकास गर्ने चर्चा सुरु भएको बताउँदै त्यसतर्फ सोच्न पनि सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व सांसद रामचन्द्र भट्टराईले व्यबस्था परिवर्तन भएपनि सारमा परिवर्तन नभएको उल्लेख गर्दै विनियोति बजेट तथा नीति कार्यक्रम कार्यान्वयनमा जोड दिनुभयो । त्यस्तै अर्का पूर्व सांसद देवेन्द्र घिमिरे, एमालेका केन्द्रीय सदस्य लिला गिरीले बजेटमा सबै क्षेत्रलाई समेटने प्रयास भएको उल्लेख गर्नुभयो ।
त्यस्तै पूर्व नगर प्रमुख भोजप्रसाद श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सदस्य तथा पूर्व नगर उपप्रमुख रामेश्वरप्रसाद श्रेष्ठले बजेटले महत्वपूर्ण योजनाहरुलाई छुन नसकेको उल्लेख गर्नुभयो । उहाँहरुले बुटवल अटो भिलेज, सिद्धार्थ बाल तथा महिला अस्पताललाई सिटी अस्पताल बनाउने योजना, वेवारिसे व्यक्ति व्यबस्थापन गर्ने योजना, आधारभूत शिक्षालाई प्रतिस्पर्धात्मक बनाउने योजना, वडा कार्यालय तथा जनशक्ति व्यबस्थापन, ऐतिहासिक पुरानो बटौली संरक्षणलाई बजेटले छुन नसक्नु दुःखद भएको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले भनाई राखेका थिए ।