चलचित्र ‘नागरिक’ शुक्रबारदेखि प्रदर्शन हुने

473

चलचित्र ‘नागरिक’ शुक्रबारदेखि प्रदर्शन हुने

Nagarikकाठमाडौँ, १६ कात्तिक । समकालीन राजनीतिक कथावस्तु समेटिएको नेपाली कथानक चलचित्र ‘नागरिक’ आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ ।

विसं २००७ देखि वर्तमान राजनीतिक गतिविधिलाई चलचित्रले समेटेको छ । चलचित्रले नेताहरुले कसरी राजनीतिक स्वार्थ पूरा गर्न जनतामाझ गरिएका वाचालाई बिर्सिएर आफ्ना स्वार्थ पूरा गर्न उन्मूख हुन्छन् भन्ने कुरालाई दर्शकमाझ ल्याउन खोजेको छ ।

चलचित्रको मुख्य भूमिका देखिएका अभिनेता रमेश बुढाथोकीले राजनीतिमा केकस्ता फोहोरी खेलहरु हुन्छन् र नेताले कसरी जनतालाई झुट बोल्छन् भन्ने कुरालाई देखाउन खोजेको जानकारी गराउनुभयो ।

“अन्य चलचित्रभन्दा फरक भूमिकामा छु, राजनीतिमा नेतृत्वले जनतासँग गरेको प्रतिबद्धता लत्याएर स्वार्थमा कसरी लाग्छन् भन्ने कुरालाई चरितार्थ गरिएको छ,”–आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

मनु इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको नागरिकलाई विमल पौडेलले निर्देशन गर्नुभएको छ । श्रीवनराज भण्डारी, सास्वत दुलाल र सत्य शर्माको संयुक्त लगानी रहेको चलचित्रमा नायकको भूमिकामा बुढाथोकी र नायिकाको रुपमा सरिता गिरीसहित अन्य चर्चित कलाकारको अभिनय रहेको छ ।

सो चलचित्रमा पुष्प आचार्यको गीत तथा लक्ष्मण शेषको सङ्गीत रहेको छ । रासस