बुटवल, २५ भदौ । नजकिदै गरेका चाडपर्व दशै, तिहार र छट पर्वका बेला यात्रुहरुलाई सुरक्षित यात्राको आभास दिलाउन बुटवलको बसपार्कमा नागरिक सहायता कक्षकोे स्थापना गरिएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देही, पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरले संयुक्त रुपमा चाडपर्वका बेला यात्रुहरुको सुखद र सुरक्षित यात्राका लागि नागरिक सहायता कक्षको स्थापना गरेका हुन् ।
दसै तिहारका बेला बुटवल वसपार्क भएर हजारौ यात्रुहरु चाडपर्व मनाउन आ–आफ्ना घर जाने र यो समयमा बसपार्क क्षेत्रमा अत्यधिक भिड हुने र यात्रुहरुले अनावश्यक सास्ती भोग्नुपर्ने, लुटिने कुटिने समेतका घटनालाई मध्येनजर गरी नागरिक सहायता कक्ष स्थापन गरिएको हो ।
नागरिक सहयता कक्ष वाट सवै नागरिकलाई सचेत भएर यात्रा गर्नका लागि जनचेतना फैलाउने, सहज र सरल तरिकावाट यात्राका लागि वातावरण तयार गर्न यात्रु र सम्वन्धित यातायात ब्यवसायी संघ संस्था संग समन्वय गर्ने काम गरिने वडा प्रहरी कार्यालय रामनगर बुटवलका प्रमुख प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनुभयो । चाड पर्वका बेला हुनसक्ने आपराधिक कृयाकलाप नियन्त्रण, लागुऔषध नियन्त्रण तथा सवारी साधनको अस्वस्थ प्रतिष्प्रधालाई रोकेर सरल सहज यात्राकालागि पनि नागरिक सहायता कक्षवाट काम हुने पहरी निरिक्षक नेपालले बताउनुभयो ।
स्थापना गरेको सहायता कक्षमा चौविसै घण्टा प्रहरीहरुले सेवा प्रदान गर्ने र यात्रुलाई सजग र सुरक्षित यात्राकालागि समय समयमा माईकिङ गर्ने, आपराधिक गतिविधि नियन्त्रणका लागि योजना बनाउने, आपराधिक योजना भएका र भैरहेको ठाँउहरुको पिहचान गरि ती ठाँउहरुको निगरानी गर्ने, शहरका भित्री सडकहरुमा पैदल गस्ती, मोबाइल गस्ती समेत गरिने प्रहरी निरिक्षक नेपालले बताउनुभयो । नागरिक सहायता कक्षमा नागरिकले आफ्ना समस्या र गुनासाहरु पनि राख्न सक्नेछन् ।