प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

1.3K

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

 बुटवल, भदौ । नजिकिँदै गरेका चाड पर्वलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अंगाडी बढाएको छ ।

चाडपर्वका बेला नागरिकको यात्रा सहज बनाउन र चोरीचकारी तथा ठगि नियन्तरण गर्नकालागि प्रहरीले विशेष सुरक्षा योजना बनाएको हो । चाडपर्वका समयमा हुन सक्ने सम्भावित अपराधिक गतिबिधि नियन्तरण तथा दुर्घटना रोक्नकालागि प्रहरीको उपस्थिती र सूचना संकलनको कामलाई प्रहरी प्रभावकारी बनाएको जनाएको छ ।

सुरक्षा योजना अनुसार जिल्लामा रहेका बसपार्कहरुमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ भने रात्रीकालिन हाईवे गस्तिलाई प्रभावकारी रुपमा अंगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो । उहाँका अनुसार चाडपर्वका समयमा लागु औषध ओसार पसार तथा विष्फोटक पदार्थ आयात बढ्ने भएकाले प्रहरीले सिमानाकामा कडाईका साथ चेकजाँच गर्नेछ ।

चोरीचकारी तथा लुटपाट नियन्तरणकालागि प्रहरीले आर्थिक कारोवार हुने क्षेत्र तथा सुन पसलहरुमा निगरानी बढाएको छ । प्रहरीले सञ्चालन गरेका चेकपोष्टहरुलाई सघन रुपमा सञ्चालन गर्ने र सूचना संकलनलाई प्रभावकारी बनाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार हाईवे क्षेत्रमा अपराधिक गतिबिधि नियन्तरणकालागि विशेष चेकपोईन्ट सञ्चालन गर्नुकासाथै सिभिलमा समेत प्रहरी परिचालन गरिएको छ ।

मदिरा तथा लागु औषधको सेवनका कारण ५० प्रतिशत भन्दा बढी अपराधका घटना हुने बताउँदै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भट्टराईले अवैध मदिरा र लागु औषध सेवन तथा कारोवारलाई विशेष निगरानीमा राखिएको बताउनु भयो ।

नागरिकको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनकालागि प्रहरीले क्विक रेसपोन्स गर्ने र १५ मिनेट भित्रै प्रहरी पु¥याउने उहाँले बताउनु भयो । प्रहरीले अपराधिक गतिबिधि हुने सम्भावित क्षेत्रलाई बढी निगरानिमा राखेर त्यस्ता स्थानका बारेमा बढी भन्दा बढी सूचना संकलन गर्ने र आवश्यकता अनुसार बर्दी मै तथा सिभिलमा प्रहरी परिचालन गर्ने प्रहरीले जनाएको छ ।

त्यस्तै लामो दुरीमा चल्ने सवारी साधनमा चालक निदाएर, थाकेर, मादक पदार्थ सेवन गरेर, सिट क्षमता भन्दा बढी यात्रु राखेर सवारी सञ्चालन गर्दा दुर्घटना हुने भएकाले पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले त्यस्ता गतिबिधिलाई निरुत्साहित गर्नकालागि पश्चिमाञ्चल क्षेत्रका तीन स्थानमा रिफ्लेक्ट सेन्टर सञ्चालन गरेको छ ।

ट्राफिक नियम सम्बन्धि जनचेतना दिनुका साथै नियन्तरण तथा त्यस्तो गतिबिधि गर्नेलाई कारवाही समेत गर्नकालागि नवलपरासीको कावासोती, तनहुँ र स्याङ्जामा रिफ्लेक्ट सेन्टर सञ्चालन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

प्रहरीले सञ्चालन गरेका ति रिफ्लेक्ट सेन्टरहरुमा त्यसबाहेक आरक्षण अनुसारका सिटमा यात्रु बसेका छन् या छैनन्, यात्रुले दर भन्दा बढी भाडा तिर्नु परेको छ छैन, यात्रुलाई अखाध्य पदार्थ खुवाएर लुटपाट भएको छकी जस्ता कुराहरुको समेत अनुगमन हुने उहाँले बताउनु भयो ।