बुटवल, ३ असोज । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्कै भाउमा उपभोक्तालाई चिनी र नुन उपलब्ध गराउने जनाएको छ ।
संघले घटस्थापनाको दिनदेखि संघको सभाहलमा दशैं सस्तो बजार सञ्चालन गर्दैछ । उक्त सस्तो बजारमा उपभोक्तालाई ५ देखि ४० प्रतिशतसम्म छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराईने दशैं सस्तो बजारका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य विमलराज भट्टराईले जानकारी दिनुभयो ।
बाहिर बजारमा सरदर ९० रुपैंयामा कारोवार भईरहेको चिनी उक्त दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्कै भाउ ७८ रुपैंयामा उपभोक्तालाई उपलब्ध गराईने उहाँले बताउनु भयो । बजारमा साल्ट ट्रेडिङ्को चिनी र नुन, मत्य बिकास केन्द्र तथा छपियाको माछा, नयाँ नोट सटहीको समेत व्यबस्था मिलाईएको छ । संघले नेपाल राष्ट्रबैंकबाट नयाँ नोट ल्याएर सर्वसाधारणलाई जनही ५ हजार सम्म उपलब्ध गराईने छ । दशैं सस्तो बजारमा ५० लाख रुपैंया नयाँ नोट सटही हुने संयोजक भट्टराईले बताउनु भयो ।
सस्तो बजारमा दैनिक उपभोग्य बस्तुहरु, चिनी, नुन, तेल, चामल, घ्यू, चिया, मसला सहित, अन्य नयाँ उद्योगका उत्पादन समेत गरी फरक फरक ४० स्टल राखिने छ । बुटवल उद्योग बाणिज्य संघले दशैंको समयमा सञ्चालन गर्न लागेको सस्तो दशैं बजारको यो १७ औं संस्करण हो । १७ औं संस्करणमा सेलरोटी र फिनी रोटी समेत बिक्रि वितरण गर्न लागिएको छ । त्यस्तै बुटवलका नयाँ उद्योगबाट उत्पादित चिया, बिस्कुट, चाउचाउ, मसला, जुत्ता–चप्पललगायतका घरायसी प्रयोगका सामानहरु राखिने छ ।
यहि असोजको १० गतेसम्म सञ्चालन गरिने उक्त दशैं सस्तो बजारमा एक करोड ५० लाखको कारोवार हुने र १८ हजार उपभोक्ता आउने अपेक्षा गरिएको छ ।चाड पर्वको समयमा एउटै छनामुनीबाट गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा बिक्रि वितरण गर्न लागिएको संघका महासचिव हरिप्रसाद अर्यालले बताउनु भयो ।