कर तथा लेखा सम्वन्धि तालिम सम्पन्न

1.3K

कर तथा लेखा सम्वन्धि तालिम सम्पन्न

देवदह, ३ असोज । कर छली होईन सबै ब्यवसायीहरु करको दायमा आएमा मुलुकमा आर्थिक समृद्धि सम्भव हुने सरोकारवालाले बताएका छन् । राज्यलाई कर (राजश्व) कसरी तिर्न सकिन्छ भन्दापनि कसरी छलीगर्न सकिन्छ भन्नेतर्फ ब्यवसायिहरु केन्द्रित हुँदा मुलुकमा आर्थिक अपचलनका घटनाहरुमा बृद्धि भएको उनीहरुले बताएका थिए । आर्थिक अपचलन भन्दापनि राज्यलाई समयमै कर तिर्ने बानी गरेका मुलुक आर्थिक चलायमान हुने उनीहरुको भनाई थियो ।

देवदह उद्योग बाणिज्य संघले मंगलबार देवदह खैरेनीमा आयोजना गरेको निःशुल्क कर तथा लेखा सम्वन्धि प्रशिक्षण कार्यक्रममा सहभागि भएकाहरुले असल नागरिकको कर्तब्य भनेकै समयमै कर तिर्नु भएको बताएका हुन् । कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका कर अधिकृत टिकाराम गैर र हिमाल गौतमले सहजिकरण गर्नु भएको कार्यक्रममा करको दायरा÷मापदण्ड, राज्यलाई कर कसरी तिर्ने, कर तिरे के हुन्छ ?, तथा विलविजक दुरुस्त राख्ने लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

उद्योग बाणिज्य संघका उपाध्यक्ष मिना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा देवदह उद्योग ब्यापार संगठनका महासचिव मेघराज ढकाल, दीर्गायू नेपालका संस्थापक लक्ष्मीकान्त पाण्डे, संघका सल्लाहकार रामचन्द्र पाण्डे, प्रेस सल्लाहकार झविन्द्र देवकोटा, ब्यवसायी तुल्सीराम न्यौपाने, संचारकर्मी रमेश पोखरेल, संघका सचिव हरि भण्डारी लगायतले समयमै कर तिर्ने असल नागरिक हुने भएकाले समयमै कर तिर्ने कुरामा सबै सचेत हुनु पर्ने बताउनुभयो ।

संघका महासचिव प्रमोद खनालले लेखा सम्वन्धि प्रशिक्षण दिनु भएको कार्यक्रममा स्थानीय झण्डै एकसय युवा ब्यवसायीहरुको सहभागिता रहेको थियो ।