
बुटवल, ५ असोज । आजदेखि नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आज बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापनाको साईत रहेको ज्योतिषहरुले बताएका छन् ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ ।
जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको हो । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । आश्विन शुक्ल प्रतिपदाको दन घटस्थापना गरि सुरु हुन्छ । आश्विन शुक्ल दशमीका दिन मान्जनबाट टिका तथा जमरा र आशिर्वाद ग्रहण गरिन्छ भने कोजाग्रत पूर्णिमाको दिन दशैंको अन्त्य गरिन्छ ।
यस विचमा परेका तिथीहरुलाई बैज्ञानिक रुपमा लिने र सोही अनुसार पुजा आरधना पनि गर्ने गरिन्छ । दशैको पहिलो दिन प्रतिपदामा सम्भावना शक्ति, द्वितियामा चुम्बकीय शक्ति, तृतीयामा ध्वनि शक्ति, चतुर्थीमा रासायनिक शक्ति, पञ्चमीमा आकर्षण शक्ति, षष्ठीमा ब्रम्हान्डीय केन्द्र शक्ति, सप्तामीमा प्रसारण शक्ति, अष्टमीमा प्रकाश शक्ति र नवमीमा बिद्युतीय शक्तिका रुपमा देवी भगवतीको पुजा तथा आरधना गर्ने गरिन्छ ।
देवी पूराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफल पछि आफ्नो आफ्नो शक्तिपुंज निकाले ।
ती शक्ति पुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गर्यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछि शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सब मनाए । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।