
भैरहवा, १० असोज । नेपाल रोडा ढुंगा उद्योग व्यवसायी संघ रुपन्देहीले सरकारसंग क्रसर उद्योग संचालनका लागि खानी व्यवस्थापन नीति कार्यान्वयन गर्न र जिल्ला भित्रको दोहोरो कर प्रणाली खारेजी गर्न माग गर्दै मंगलवार जिल्ला समन्वय समिति रुपन्देहीमा ज्ञापन पत्र बुझाएको छ ।
सरकारले नदिजन्य पदार्थ ढुंगा, गिट्टी बालुवा निकासी वन्द गरेको र संचालनमा रहेका क्रसर उद्योगहरुलाई देसका १४ वटा स्थानमा व्यवस्थापन गर्ने नीति बनाएपनि हालसम्म ढुंगा खानी स्थानको पहिचान नगरेको र पुर्वाधार समेत नबनेकाले क्रसर व्यवसाय धरासायी भएको गुनासो गर्दै संघले निकासको वातावरण मिलाईदिन आग्रह गरेको छ ।
संघका अध्यक्ष गोपाल ज्ञवालीले क्रसरलाई दोहोरो कर प्रणाली र अर्कोतर्फ नदिजन्य पदार्थ निकासीमा प्रतिवन्ध लगाईदिंदा रुपन्देहीमा २५ वटा क्रसर उद्योगहरु वन्द भएको र रुपन्देहीका अन्य पुरै उद्योगहरु पनि विस्थापित हुने अवस्थामा पुग्नुका साथै सरकारलाई पनि मासिक करौडौं राजस्व घटेको उल्लेख गर्नुभयो । जिल्लामा ४९ वटा उद्योग थिए, तर अहिले उद्योगहरु संकटमा परी २४ वटा मात्रै फाटफूट संचालनमा आएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
रुपन्देहीमा संचालित क्रसरहरु चुरेक्षेत्रभित्र नपरी महाभारत पर्वत श्रृंखलाबाट वग्दै आउने ढुंगा, गिट्टी बालुवा रुपन्देहीको तिनाउ नदिमा संकलन हुने कच्चा पदार्थ रहेकाले जिल्ला समन्वय समितिले ठेक्का खुला गरी क्रसर उद्योगहरुलाई संचालनको वातावरण मिलाईदिन संघले आग्रह गरेको छ ।
क्रसर उद्योगहरु सहजढंगले संचालन हुन नपाउंदा हजारौ वेरोजगार युवा विदेस पलाएन भएको, सरकारको मासिक करोडौं रुपैयां राजस्व घटेको, उद्योगीहरु धरासायी भएको, व्यवसायीले ऋण तिर्न नसक्दा बैंकहरु समेत प्रभावित भएको, प्रत्यक्ष अप्रत्यक्ष रुपमा रुपन्देहीमा मात्रै ३२ हजारको रोजगारी गुमेको र ब्यवसायीको करोडौं लगानी डुवेको गुनासो गर्दै रुपन्देहीका क्रसर व्यवसायीले ज्ञापनपत्र बुझाएका हुन् ।
संघको ज्ञापनपत्र बुझ्दैं जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्माले व्यवासायीलाई परेको समस्याप्रति आफू गम्भिर रहेको र स्थानीय तहमा आफूले गर्नसक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकार स्थिर नहुदा राज्यका हरेक अंगहरु अस्तव्यस्त रहेको र ब्यवसायीका अप्ठ्याराका गांठाहरु खुलाउन र राज्यलाई आर्थिक रुपमा वलियो बनाउन हामी सवै मिलेर समाधान खोज्नुपर्ने समन्वय समितिका सभापति बिश्वकर्माले वताउनुभयो ।
क्रसर ब्यवसायी एबम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद शर्मा, रोडा ढुंगा उद्योग व्यवसायी संघका केन्द्रिय सचिव रामु अधिकारी, क्रसर व्यवसायी राम थापा, गणेश उपाध्याय, यातायात भलाई कोषका अध्यक्ष नारायणप्रसाद भट्टराईलगायतको टोली उद्योगी व्यवयासीहरुका समस्या सहितको ज्ञापनपत्र लिएर जिल्ला समन्वय समितिको कार्यालयमा पुगेको हो ।