
बुटवल, २५ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्धारित मितिमा प्रदेश र संघीय निर्वाचन सम्पन्न गर्नकालागि आफ्नो पार्टीले सरकारलाई समर्थन गर्ने निसर्त निर्णय गरेको बताउनु भएको छ ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बिचको चुनावी तालमेल र त्यसपछि पार्टी एकिकरणसम्मको सहमतिले सरकार अल्पमतमा परेर चुनाव विथोलिने परिस्थिती निर्माण भएकाले आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको र आवश्यक परे सरकारमा समेत सहभागि हुने जानकारी गराउनु भयो ।
लुम्बिनी अञ्चलका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न बुटवल आउनु भएका अध्यक्ष थापासंग रिपोटर्स क्लवले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सत्ता साझेदार माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल एमालेसंग चुनावी तालमेल सहित पार्टी एकिकरण सम्मका कुराले चुनाव नै धरापमा पर्ने सम्भावना देखिएको उल्लेख गर्नुभयो ।
उहाँले निर्धारित मितिमा नै चुनाव सम्पन्न गर्नकालागि वर्तमान सरकारलाई समर्थन गर्ने र प्रजातन्त्रपक्षधर शक्तिहरुसंग ध्रुवीकरण हुने पार्टीले निणय गरेको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो– ‘यो परिस्थितिजन्य आवश्यकता हो, हामी सरकारमा जाँदा समयमै निर्वाचन पनि हुन्छ र यो सरकार पनि अल्पमतमा पर्दैन ।’
पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले तोकिएकै मितिमा चुनाव गराउन यो सरकार र आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनु भयो । आफ्नो पार्टीले चुनावलाई उच्च प्राथमिकता दिएको बताउँदै थापाले रचनात्मक रुपमा सरकारलाई सहयोग गर्न समेत आह्वान गर्नुभयो ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्ति बिच पार्टी एकता गर्ने कुरा सकारात्मक भएपनि एमाले माओवादी कम्युनिष्ट भएपनि आपसमा विपरित मान्यता बोकेका पार्टी भएकाले आफूले सम्भव नदेखेको बताउनु भयो । ‘बहुदलीय व्यबस्था, प्रजातान्त्रिक मुल्यमान्यता बलिया बनाउनकालागि एकता हो भने राम्रो हो ।’ उहाँले भन्नुभयो–‘तर साम्यवादी सिद्धान्तमा आधारित व्यबस्था ल्याउन हो भने कम्युनिष्ट शासन स्वीकार गर्न सकिँदैन ।’
संविधानलाई आलोचनात्मक समर्थन गरेको राप्रपाका अध्यक्ष थापाले संविधान प्रति निष्ठा भएपनि संविधानमा केही पक्ष सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै सहमतिका आधारमा हिन्दुराष्ट कायम हुन नसके मंसिरका चुनावमा संगसंगै जनमत संग्रह गर्न समेत आग्रह गर्नुभयो ।