राणा शासन फाल्यौं, पञ्चायत फाल्यौं, अब कम्युनिष्टलाई पराजित गर्छौं – प्रधानमन्त्री देउवा

193

राणा शासन फाल्यौं, पञ्चायत फाल्यौं, अब कम्युनिष्टलाई पराजित गर्छौं – प्रधानमन्त्री देउवा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका कम्युनिष्टहरुले तिव्र ध्रुवीकरण गरेर राष्ट्रियता कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।

 

अखण्ड पार्टीका अध्यक्षसहितका नेता तथा कार्यकर्ता एवम् पूर्व सांसद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतलाई पार्टी प्रवेश गराउन पोखराको प्रदर्शनी केन्द्रमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले अधिनायकवाद ल्याउनका लागि तीव्र ध्रुवीकरण गरेको बताए । तीव्र ध्रुवीकरणले राष्ट्रियता कमजोर हुने उनको तर्क थियो ।

प्रधानमन्त्री देउवाले डर त्रासबाट मुक्त समाज कांग्रेसले मात्रै निर्माण गर्न सक्ने जिकिर गरे । कम्युनिष्टहरुले साम्यवादसम्म पुग्ने उद्देश्य राखेर ध्रुवीकरण गरिरहेको र त्यसले अधिनायकवाद भित्र्याउने भन्दै उनले डर त्रासमुक्त समाज निर्माणका लागि अबको निर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरे ।

उनले मंसीर १० र २१ गते हुने चुनाव सामान्य पार्टी पार्टीवीचको लडाईं मात्र नभएको बताउँदै भने, ‘यो चुनाव लोकतन्त्रको लडाईं हो, प्रजातन्त्रको लडाईं हो र जनताको शासन स्थापना गर्ने लडाईं हो ।’प्रधानमन्त्री देउवा भने, ‘कांग्रेसले २००७ सालमा राणा शासन फाल्यौं, ०४६ सालमा पञ्चायत फाल्यौं, अब अधिनायकवाद लाद्ने कम्युनिष्टहरुलाई पराजित गर्छौं

प्रधानमन्त्री देउवाले एकतन्त्रीय शासन कांग्रेसले दुईपटक फालिसकेको र अहिले कम्युनिष्ट अधिनायकवाद शासनबिरुद्धको लडाईं भएको बताउँदै भने, ‘कांग्रेसले २००७ सालमा राणा शासन फाल्यौं, ०४६ सालमा पञ्चायत फाल्यौं, अब अधिनायकवाद लाद्ने कम्युनिष्टहरुलाई पराजित गर्छौं ।’

प्रधानमन्त्री देउवाले स्थानीय तह जित्दैमा घमण्ड नगर्न एमालेलाई चुनौति दिए । स्थानीय तहको चुनावमा जनताले व्यक्ति र व्यक्तित्व हेर्दा कांग्रेस केही कमजोर बनेको तर संघ र प्रदेशको चुनावमा राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र डरत्रास मुक्त समाज निर्माणका लागि जनताले कांग्रेसलाई जिताउने उनले दाबी गरे ।

कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न चाहन्छन्- पौडेल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न उद्यत्त रहेको आरोप लगाए । उनले भने, ‘विश्वमै कम्युनिष्टहरु लोकतन्त्रको घोडा चढेर अधिनायकवाद लाद्न चाहन्छन्, अहिले विश्वबाटै कम्युनिष्टहरु हराउँदै गएका बेला नेपालमा पनि लोकतन्त्रको घोडा चढेर बाम गठबन्धनका नाममा अधिनायकवाद लाद्ने प्रयास भइरहेको छ, यसलाई पराजित गर्नुपर्छ ।’
बरिष्ठ नेता पौडेलले बाम गठबन्धनले संविधान संशोधन गरेर मौलिक हक कुण्ठित पार्ने उद्घोष गरेकोप्रति आपत्ति जनाए । उनले बाम गठबन्धनले मौलिक हक संशोधन गर्छु भनेर देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने कुचेष्टा गरेको टिप्पणी गरे ।

पौडेलले आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन पार्टी/पार्टीबीचको लडाइँ नभएर स्वतन्त्रता र अधिनायकवादीवीचको लडाई भएको बताए । उनले भने- ‘यो चुनाव पार्टी/पार्टीबीचको लडाईं मात्र हैन, यो चुनाव साम्यवादी र प्रजातन्त्रवादीवीचको लडाई हो, सिद्धान्तको लडाईं हो, ब्यबस्थाको लडाईं हो, स्वतन्त्रता र अधिनायकवादीवीचको लडाईं हो, अग्रगमन र अधिनायकवाद पश्चगमन फर्काउने लडाईं पनि हो ।’

कांग्रेस नेता पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान प्राप्त भएको र अब समृद्धिको नेतृत्व पनि कांग्रेसले गर्ने बताए । उनले अधिनायकवादलाई परास्त गरेर कांग्रेसलाई चुनावमा बिजयी गराउन स्वतन्त्र र लोकतन्त्रवादीहरुले एकजुट भई सामना गर्नुपर्ने भन्दै एकजुट हुन अपिल गरे ।

उनले प्रदेश नम्बर ४ लाई नेपालकै सबैभन्दा सुन्दर, सम्पन्न, विकसित बनाएर नेपालकै नमूना सहर बनाउने उद्घोष गरे ।

कार्यक्रममा बोल्दै महामन्त्री शशांक कोइरालाले विश्वबाट पलायन भइरहेको कम्युनिज्म नेपालमा सम्भव नभएको बताए । उनले देशको कायापलट नेपाली कांग्रेसले मात्र गर्न सक्ने बताउँदै कांग्रेसलाई फेरि पनि विश्वास गर्न आग्रह गरे ।

त्यसैगरी उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्टहरुको अधिनायकवाद टिक्न नसक्ने दाबी गरे । उनले काँधमा काँध मिलाएर कांग्रेस एकजुट हुँदै गएको र यसले आगामी चुनावमा सकारात्मक परिणाम ल्याउने विश्वास व्यक्त गरे ।