समृद्धिका लागि सामूहिक प्रयास आवश्यक : महरा

1.3K

समृद्धिका लागि सामूहिक प्रयास आवश्यक : महरा

बुटवल, १५ कात्तिक । देशमा संविधान कार्यान्वयनको पूर्णतातर्फ लागिरहेको समयमा सामूहिक प्रयासमा देशमा आर्थिक सशक्तिकरण गर्ने समय आएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताउनु भएको छ ।

बुधबार भिजन लुम्बिनीले बुटवलमा गरेको अन्तरक्रियामा माओवादी केन्द्रका नेता समेत रहेका उप प्रधानमन्त्री महराले देश परिवर्तनको बाटोमा अगाडी बढेकोले लगानीमैत्री वातावरण निर्माण गर्ने समय आएको बताउनु भएको हो ।

स्थानीय निर्वाचन सकिएसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पछि मुलुक समृद्धिको बाटोमा लाग्ने निश्चित छ उहांले भन्नुभयो– “दृढ ईच्छाशक्ति, लगानीमैत्री वातावरण र सामूहिक प्रयासले विकास सम्भव हुन्छ । त्यसैले नेपालमा लगानीमैत्री उपयुक्त वातावरण बन्दै गएकोले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा लगानी गर्न उपयुक्त छ ।

विना विभागिय उप प्रधानमन्त्री महरा प्रतिनिधीसभा निर्वाचनमा एमाले–माओवादी वाम गठवन्धनको साझा उम्मेदवारको रुपमा दाङबाट चुनाव लड्दै हुनुहुन्छ । चुनावी अभियानमा जिल्ला जाने क्रममा नेता महराले आसन्न निर्वाचन सम्पन्न हुँदा देशले मुहार फेर्ने बताउनुभयो । ‘अब नेपाली जनताले बनाएको संविधानले नै विकासको खाका तर्फ उन्मुख गराएको छ ।

युवाहरुले चाहे परिवर्तन सम्भव छ,’–उहांले भन्नुभयो । दाङ क्षेत्र नम्बर २ मा टिकट पाएपछि महरा रोल्पाबाट पूनः दाङ्ग झर्नुभएको हो । उहांले पहिलो संविधान सभा निर्वाचनमा दाङ्ग क्षेत्र नं. ३ र दोस्रोमा रोल्पाबाट चुनाव जित्नु भएको थियो ।