लोकतान्त्रिक ब्यबस्था खतरामा: नेता खाँण

1.3K

लोकतान्त्रिक ब्यबस्था खतरामा: नेता खाँण

भैरहवा, १८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रचार समिति संयोजक बालकृष्ण खाँणले अहिलेको चुनाव लोकतान्त्रिक र कम्युनिष्ट शासन बिच भएको टिप्पणि गर्नुभएको छ ।

एउटा शक्ति लोकतन्त्रलाई हटाएर निरंकुश शासन ल्याउनकालागि एकताबद्ध भएको र त्यसको बिरुद्धमा लोकतान्त्रिक शक्ति रहेको उहांले बताउनुभयो ।

नेपाली काँग्रेस रुपन्देहीले शनिवार भैरहवामा गरेको कार्यक्रममा नेता खाँणले एमाले–माओबादी गठबन्धन नेपालमा लोकतन्त्र सिध्याउने र एकतन्त्रीय शासन ल्याउने अभिप्रायकासाथ अगाडी बढेकाले अन्य सवै शक्ति मिलेर लोकतन्त्र र जनताको उपलब्धी जोगाउने बेला आएको बताउनुभयो । हालको सवै लोकतान्त्रिक ब्यबस्थालाई खारेज गरेर नयाँ पद्धति ल्याउने धम्की बाम गठबन्धनको त्यही अभिष्टका साथ आएको उहांको टिप्पणि थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र तराई अलग गराउने आन्दोलनमा सक्रिय सिके राउत उस्ता उस्तै भएको टिप्पणी गर्दै आउनुभएका नेता खाँणले ओली उग्र राष्ट्रघाती भएको आरोप लगाउनुभयो । नेपाललाई राजनीतिको असफल प्रयोगशाला बनाउन बाम गठबन्धन लागेको जिकिर गर्दै उहांले कुनै पनि हालतमा कम्युनिष्ट शासन आउन दिन नहुने बताउनुभयो ।

नेपाललाई बिगतदेखि राजनीतिको असफल प्रयोगशाला बनाईदै आएको छ, उहांले भन्नुभयो– “अहिले हिजो राणा, पञ्चायत र राजाले गरेको अभ्यास बाम गठबन्धनले गर्दै छन् । यसलाई रोक्नु पर्दछ । लोकतन्त्र र मुलुकको संविधानलाई खारेज गराएर एमालेले देशलाई उल्टो दिसा तर्फ लैजान लागेको छ ।” नेता खाँणले राष्ट्रियता कमजोर पार्दै बिखण्डनमा लाग्नेहरु राष्ट्रबादी हुनै नसक्ने जिकिर गर्दै सीमाको रक्षा र राष्ट्रिय स्वाभिमान उचो राख्न हिमाल, पहाड, तराई, पुर्वमेचीदेखी पश्चिम महाकाली र मर्चवारदेखि मुस्ताङ्गसम्म बस्ने सवै नेपालीको उत्तिकै योगदान रहेको चर्चा गर्नुभयो । राष्ट्रियताको रक्षा गर्नेहरुलाई बिभाजन गरी मुलुकलाई कमजोर बनाउन एमाले अध्यक्ष ओली लागेको उहांले आरोप लगाउनु भयो ।

नक्कली राष्ट्रबाद र उग्रपनाले मुलुक कमजोर बन्दै गईरहेको भन्दै उहांले अव सवै नेपालीले गम्भीर भएर सोच्नु पर्ने बेला आएको उहांले बताए । हिजो राजाले देशलाई कमजोर पार्दै आफु शक्तिशाली बन्न खोज्दा राजतन्त्र सकिएको र अहिले एमाले अध्यक्ष ओलीले त्यहि मार्ग अवलम्वन गर्दै राष्ट्रिय एकतालाई कमजोर पारेर आफु शक्तिशाली बन्न खोजिरहेको नेता खाँणले टिप्पणि गर्नुभयो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले काँग्रेस सस्तो लोकप्रियताबादी पार्टी नभई मुलुकलाई बलियो बनाउन, राष्ट्रिय एकता कायम राख्न र सवै नेपालीलाई सम्मान गर्नुपर्दछ भन्ने मान्यताबाट निर्देसित भएको बताउनुभयो ।