डेंगुको व्यवस्थापनमा जागरुक्ता आवश्यक

453

डेंगुको व्यवस्थापनमा जागरुक्ता आवश्यक

बुटवल, १९ कात्तिक । रुपन्देहीमा डेंगुको सक्रमण बढ्दै गएकाले यसको व्यवस्थापनमा सबैको सहयोग र जागरुकता आवश्यक रहेको आईतवार बुटवलमा आयोजित एक कार्यक्रमका सहभागिहरुले वताएका छन् । असौज देखि शुरु भएको डेंगुको सक्रमण प्रकोपको रुपमा रुपन्देहीमा फैलिन थालेकाले तत्काल रगत र परीक्षणका लागि किटको व्यवस्थापनमा सजगता अपनाउन पनि उनीहरुले आग्रह गरेका छन् ।
नेपाल पत्रकार महासंघ रुपन्देही, बुटवल उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा भएको डेंगु रोग नियन्त्रणमा सरोकारवालाको भूमिका बिषयक अन्तरसंवाद कार्यक्रममा सहभागीहरुले यस्तो विचार व्यक्त गरेका हनु । रुपन्देहीमा कार्तिक महिना लागेदेखि डेंगुको संक्रमण अत्यधिक बढेको सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
रुपन्देहीमा शनिबारसम्म ३ सय ७९ जनामा डेंगु रोगको संक्रमण भेटिएको छ । डेंगु लागेका विरामीमध्ये ७५ प्रतिशत बुटवल उपमहानगरका छन् । कार्यक्रममा बुटवल उपमहानगरका कार्यवाहक प्रमुख गोमा आचार्यले डेंगुको प्रकोप नियन्त्रणका लागि उपमहानगरले सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै टायरको व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभयो ।

उहांले डेंगुको समस्या सबैको साझा समस्या भएकाले अन्य संघसंस्थासँग हातेमालो गरेर उपमहानगरले काम गर्ने बताउनुभयो । बुटवलमा प्लेटलेस मेशिन एउटा मात्रै भएको बिषयप्रति ध्यानाकर्षण भएको जनाउँदै उपमहानगरले यो बिषयमा छलफल गरेर अर्को मेशिन व्यवस्थापन गर्ने उहांको भनाई छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारले लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको उपचार नभएकाले यसको टोकाईबाट बच्न आग्रह गर्नुभयो । उहांले जनस्वास्थ्यले सचेत गराउने कार्यक्रम गरिरहेको भन्दै यसको व्यवस्थापनका लागि सबै तह र निकायले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी र दीपक ज्ञवालीले डेंगु २०६७ सालदेखि देखिएकाले अब यसको दीर्घकालिन समाधान र उपचारका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्ने बताउनुभयो । लुम्बिनी अञ्चल अस्पताल बुटवलका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बुटवलमा सबैभन्दा बढि डेंगुका विरामी रहेकाले अब केन्द्रीय तहले पनि यो समस्यामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सो कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्ष गणेश अधिकारी, पश्चिम नेपाल बस व्यवसायी संघ बुटवलका कार्यवाहक अध्यक्ष नारायण घिमिरेलगायतले बोल्दै निजि क्षेत्रको तर्फबाट आफूहरु सहयोग गर्न तयार रहेको बताउनुभयो ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिको अध्यक्षता, उपाध्यक्ष दिनेश पाण्डेको स्वागत तथा सहसचिव एंव अन्तरक्रिया कार्यक्रम संयोजक विनोद परियारको सञ्चालनमा भएको कार्यक्रममा रक्तसञ्चार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपाने, मेलान रुपन्देहीका उपाध्यक्ष नारायण भण्डारी, रक्तसञ्चारका प्राविधिक राधा शर्माल पनि वोल्नु भएको थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाह र बुटवल उपहानगरका जनस्वास्थ्य शाखाका संयोजक डा. रमेश केसीले डेंगु रोगको अवस्था र भएका कामका बारेमा जानकारी गराउनु भएको थियो ।