बुटवल, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन पछि नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता कसैले भांड्न नसक्ने दावी गरेका छन् । पार्टी एकताकै लागि निर्वाचनमा गठबन्धन भएकाले अब एकता भांड्ने षडयन्त्र नगर्न चेतावनी दिए । नेपाली जनताले राजनीतिक स्थायित्व र विकास चाहेको भन्दै त्यसका लागि दुइ पार्टी वीचको एकता जरुरी रहेको बताए । उनले भने–‘हामीले जनताले कसरी सहज रुपमा सेवा सुविधा पाउछन् भन्ने तर्फ केन्द्रीत भएका छा,त्यसका लागि भारी बहुमत सहितको स्थायी सरकार बनाउनु पर्छ त्यसको जिम्मा नेपाली जनतालाई छ ।’ समावेशी सहभागीता मुलक ढंगले जनतालाई चाहिने सेवा सुविधा प्रदान गर्ने ओलीको प्रतिवद्वता थियो ।
सोमवार रुपन्देही रुद्रपुर स्थित हरैयामा भएको आमसभालाई सम्वोधन गर्दै नेता ओलीले एमालेको अल्पमत सरकारले आफ्नो गाउ आफै बनाऔे, वृद्ध भत्ता लगायतका लोकप्रिय कार्यक्रम ल्यायो,कांग्रेसको बहुमतको सरकारले के काम गर्यो भनि प्र्रश्न गरे ।
विश्व शान्तिको मुहानलाई केही ब्यक्तिहरुले मागी खाने भांडाको रुपमा प्रयोग गरेकोे भन्दै अब लुम्विनीको विकास अन्तरराष्ट्रिय चासोको विषय बनेको वताए । लुम्विनीलाई दक्षिण भारतीय सिमा र उत्तर हाइवे सम्म विस्तार गरेर यस क्षेत्रको कायापलट गर्ने उल्लेख गरे । लुम्बिनीमा अन्तररिष्ट्रय विमानस्थल निर्माण अन्तीम चरणमा रहेकाले यस क्षेत्रको संमृद्धि धेरै टाढा नरहेको अनुमान गरे ।
नदी नियन्त्रण गर्ने , कृषिलाई आधुनिकीकरण गर्ने, औद्योगीक क्षेत्र र विशेष औद्योगीक क्षेत्र निर्माण गरी औद्योगिक क्रान्ति गर्ने उनको भनाई थियो । हरेक प्रदेशमा विश्वविद्यालय र मेडिकल कलेज स्थापना गर्ने योजना रहेको भन्दै यस्ता कुरा गर्दा केही व्याक्तिहरु मुर्छा परेको उनले बताए ।
रोजगारीका अवसरहरु सृजना गर्नेमा विश्वस्त हुन आग्रह गर्दै उनले कृषिको आधुनिकीकरण, व्यापारीकरण , पर्यटन, होटल, यातायात सबै क्षेत्रमा विकास गर्ने र त्यसबाट युवाहरुले रोजगार पाउने विश्वास दिलाए ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता राम बहादुर थापा (बादल) ले नेपालमा अव छिट्टै विभाजित कम्युनिष्टहरुको एकता हुन लागेको भन्दै यो घटना नेपालको ईतिहासमा ठुलो घटना हुने बताए । उनले बाम एकता देखेर देशी विदेशी शक्तिहरु आत्तिएको विश्लेषण गरे । गणतन्त्र आएपनि लाखौ युवाहरु विदेशको मरुभुमिमा पसिना बगाउनुपर्ने अवस्था रहेको भन्दै अवको विकास समृद्धिबाट नै संभव भएको बताए ।
रुपन्देही क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उमेद्वार डिलाराम आचार्यले अव जमाना बदिलिएको भन्दै अवको जित बामकै जित भएको बताए । उनले परिर्वतनको लागि नयाँ जग रुपन्देहीबाट नै सुरु भएको भन्दै बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने योजना सहितको गुरुयोजना रहेको बताए ।
नेकपा एमाले प्रदेश नम्बर ५ का सचिव तथा रुपन्देही क्षेत्र नम्बर ५(१)का प्रदेश सभा उमदेवार भुमिश्वर ढकालले बाम गठबन्धको जितबाट समग्र देशको विकास हुने दावि गरे ।
कार्यक्रमा रुपन्देही क्षेत्र नम्बर ५(२) का प्रदेश सभा उमेद्वार हजरत बलाल फकीर(राजु) ले स्थानिय भाषामा सम्बोधन गर्दै क्षेत्र नम्बर ५ को विकासको लागि कुनै कसर बाँकी नराख्ने बताए । विगतका दिनमा आफुले मधेसको आन्दोलनको नेतृत्व गरेको भन्दै आगामी दिनमा मधेसको नाममा कुनै आन्दोलन नहुने र बाम गठबन्धनले नै विकासको गती दिनेमा आफु विश्वस्त रहेको बताए ।