एक दलिय सर्वसत्तावाद रोक्नकालागि काँग्रेसले जित्नैपर्छ : देउवा

651

एक दलिय सर्वसत्तावाद रोक्नकालागि काँग्रेसले जित्नैपर्छ : देउवा

बुटवल, १२ मंसिर। नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी मिलेर ल्याउन खोजेको एक दलिय सर्वसत्तावाद रोक्नकालागि नेपाली काँग्रेसले जित्नैपर्ने बताउनु भएको छ । अहिलेको चुनाव नेपाली जनताको भाग्य निर्धारण गर्ने अवसरका रुपमा खडा भएको बताउँदै प्रधानमन्त्री देउवाले अब कस्तो सरकार बनाउने र कस्तो शासन व्यबस्था ल्याउने जनताको हातमा रहेको बताउनु भयो ।

नेपाली काँग्रेसले रुपन्देहीको ५ नम्बर क्षेत्रको सालझण्डीमा आयोजना गरेको चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले जिते मुलुक भरीको सुकुम्बासी समस्या सामाधान गर्ने र वेरोजगार युवालाई रोजगारीको सुनिश्चितता प्रदान गर्ने बताउनु भयो । ‘यहाँको प्रमुख समस्या सुकुम्बासी समस्या हो ।’ प्रधानमन्त्री देउवाले भन्नुभयो–‘काँग्रेसलाई जिताउनुहोस, सुकुम्बासी समस्या समाधान गर्छौँ, गर्छौँ, गर्छौँ ।’

उहाँले सामाजिक सुरक्षाकालागि बृद्ध भत्ता बढाउने बताउँदै वेरोजगार युवालाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संविधान सभाबाट जारी भएको संविधान समावेशी भएको र सबैलाई अधिकार सम्पन्न गराईएको बताउँदै उहाँले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल मिलेर यो सबै व्यबस्था खत्तम पारेर एक दलिय सर्वसत्तावाद ल्याउन खोजिएकाले त्यसलाई रोक्नकालागि नेपाली काँग्रेसले जित्नै पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्यत्र असफल भएको साम्यवाद प्रयोग गरेर मुलुकलाई डम्पिङ् साइड बनाउन खोजिएको आरोप लगाउनु भयो । उहाँले संविधानको मसी सुक्न नपाउँदै बाम गठबन्धनका नाममा एमाले र माओवादी मिलेर संविधान बदल्ने कुरा दिवा स्वप्न मात्रै भएको दावी गर्नुभयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेलले कम्युनिष्टलाई मत दिएर आत्मघात नगर्न मतदातालाई आग्रह गर्दै लोकतन्त्र र संघीय गणतन्त्रलाई टुङ्गो लगाएपछि बिकास र समृद्धिको यात्रा अंगाडी बढ्ने बताउनु भयो ।

त्यस्तैगरी पार्टीका महामन्त्री डा. सशांक कोईरालाले साम्यवादी शासनमा व्यक्तिगत स्वतन्त्रता समाप्त हुने बताउँदै आफूले पिता बिपी कोईरालाको सपना पुरा गर्ने अभियानमा रहेको बताउनु भयो । कम्युनिष्ट नेताहरुले पनि आफ्ना छोरा छोरीलाई कम्युनिष्ट शासन व्यबस्था भएको मुलुकमा पठाउन नसक्ने बताउँदै लोकतन्त्रको गरिमा विश्वभरी उच्च रहेको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितीका केन्द्रीय संयोजक बालकृष्ण खाँणले संसारभरी असान्दर्भिक भएको कम्युनिष्ट शासन व्यबस्था नेपालमा आउन नसक्ने जिकिर गर्नुभयो । उहाँले संयुक्त राष्ट्रसंघमा आवद्ध १९५ देशमा उत्तरकोरिया, क्यूवा, भेतनाम लगायत पाँच देश बाहेक अरु सबै मुलुक लोकतान्त्रिक भएको बताउँदै नेपालमा कुनै पनि हालतमा कम्युनिष्ट शासन व्यबस्था स्वीकार्य नभएको जिकिर गर्नुभयो ।
पाँच नम्बर प्रदेश ऐतिहासिक स्थलहरु भएको प्रदेश भएकाले सबैभन्दा बढी बिकसित प्रदेश पनि बनाउने र प्रदेशको राजधानी रुपन्देहीमै बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार उद्योगपति बिनोद चौधरीले नेपाली काँग्रेसले लिएको आर्थिक उदारीकरणका कारण २०४८ पछि आर्थिक बिकासले गति लिन थालेपनि २०५२ पछि राजनीतिले बाटो बिराउँदा मुलुकको अर्थतन्त्र अस्तव्यस्त भएको बताउनु भयो । उहाँले लोकतन्त्र र सुदृण अर्थतन्त्रकालागि लड्ने नेपाली काँग्रेसबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउनु भयो । उद्योगी चौधरीले नेपालबाट युवा बिदेश पलायन हुने नियति परिवर्तन गर्न आवश्यक भएको र नेपाली काँग्रेसले मुलुकमै रोजगारी सिर्जना गरि युवालाई विदेश पलायन हुने नियतिको अन्त्यगर्ने दावी गर्नुभयो ।

क्षेत्र नं. ५ का सभापति बसीउल्लाह मुसलमानको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य पुष्पा भुसाल, क्षेत्र नं. ५ बाट प्रतिनीधि सभा सदस्य उम्मेदवार भरतकुमार शाह, प्रदेश सभा सदस्यका उम्मेदवारहरु बिष्णु पोखरेल, फकिरुद्धिन खाँ, महासमिति सदस्य अनिता शाह, क्षेत्रीय सचिव रामबहादुर थापा लगायतले पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा बनाउने र सुकुम्बारी समस्या समाधानका लागि नेतृत्व लिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।