
कपिलबस्तु, २४ मंसिर। प्रतिनीधि सभामा तीन क्षेत्र रहेको कपिलबस्तु जिल्लामा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले एक एक क्षेत्रमा विजय हासिल गरेका छन् । प्रतिनीधि सभामा क्षेत्र नं. १ बाट भारतकालागि नेपालका पूर्व राजदुत दीपकुमार उपाध्यायलाई हराउँदै माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य चक्रपाणी खनाल निर्वाचित हुनु भएको हो ।
निर्वाचित खनालले २९ हजार ७९९ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका नेता उपाध्यायले २८ हजार ८५३ मत प्राप्त गर्नुभएको थियो । प्रतिनीधि सभामा चुनाव लड्नकालागि उपाध्यायले राजदुत पदबाट राजिनामा दिनुभएको थियो ।
त्यस्तै प्रतिनीधि सभा अन्तरगत क्षेत्र नं. २ बाट एमाले उम्मेदवार बृजेशकुमार गुप्त निर्वाचित हुनु भएको छ । उहाँले ३५ हजार १४७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कपिलबस्तु जिल्ला सभापति समेत रहनु भएका सुरेन्द्रराज आचार्यले ३१ हजार ५६६ मत प्राप्त गर्नुभएको थियो ।
जिल्लाको क्षेत्र नं. ३ मा भने बाम गठबन्धनका बिरुद्ध नेपाली काँग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह निर्वाचित हुनु भएको छ । शाहले २० हजार १मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्वन्दी संघीय समाजवादी फोरमका मंगलप्रसाद गुप्ताले १५ हजार ८२६ मत प्राप्त गर्नुभएको छ भने एमाले माओवादी गठबन्धनबाट एमाले उम्मेदवार रहनु भएका ईश्वरदयाल मिश्र तेस्रो हुनु भएको छ । मिश्रले १४ हजार ३३० मत प्राप्त गर्नुभएको छ ।
कपिलबस्तुमा प्रदेशसभा तर्फ १(१) बाट एमालेका विष्णुप्रसाद पन्थी, १(२) बाट संघीय समाजवादी फोरमका सहसराम यादव, २(१) बाट एमालेका दीर्गनारायण पाण्डेय, २(२) बाट एमालेकै धर्मबहादुरलाल श्रीवास्तव तथा ३(१) बाट एमालेका अर्जुनकुमार केसी र ३(२) बाट नेपाली काँग्रेसका बिरेन्द्रकुमार कनोडिया निर्वाचित हुनु भएको छ ।