रुपन्देहीका तीनवटामा एमाले, दुईवटा क्षेत्रमा काँग्रेस उम्मेदवार विजयी

1.3K

रुपन्देहीका तीनवटामा एमाले, दुईवटा क्षेत्रमा काँग्रेस उम्मेदवार विजयी

बुटवल, २४ मंसिर।  प्रतिनीधि सभा सदस्य पदको निर्वाचनमा रुपन्देहीका पाँच क्षेत्र मध्ये ३ वटामा एमाले र २ स्थानमा नेपाली काँग्रेसले जित हात पारेको छ । त्यस्तै प्रदेश सभामा १० क्षेत्र रहेको जिल्लामा ५ वटा एमाले ३ वटा नेपाली काँग्रेस तथा माओवादी केन्द्र र संघीय समाजवादी फोरमले एक एक स्थानमा जित हात पारेका छन् ।

रुपन्देही जिल्लामा एमालेले क्षेत्र नं. १, २ र ३ तथा नेपाली काँग्रेसले ४ र ५ मा जित हात पारेको हो । क्षेत्र नं. १ बाट एमाले स्थायी समिति सदस्य छविलाल विश्वकर्माले नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकलाई हराउनु भएको हो । एमाले माओवादी गठबन्धनबाट उम्मेदवार बन्नुभएका विश्वकर्माले ३४ हजार ७५२ मत प्राप्त गर्नुभएको थियो भने नेपाली काँग्रेस राप्रपा प्रजातान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका रज्जाकले २६ हजार ८८५ मत प्राप्त गर्नुभयो । कुल १लाख १२ हजार १३० मतदाता रहेको रुपन्देही १ मा८६ हजार ९१५ मत खसेको थियो ।

त्यस्तैगरी क्षेत्र नं. २ मा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेल भारी मतले विजयी हुनु भएको छ । बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका पौडेलले ४४ हजार ९ सय मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार युवराज गिरीले २१ हजार ९४६ मत प्राप्त गर्नुभएको थियो । २२ हजार ६३ मतान्तरले प्रतिनीधि सभामा निर्वाचित हुनु भएका पौडेल २०६४ र २०७० को संबिधानसभा निर्वाचनमा पनि यहि क्षेत्रबाट लगातार निर्वाचित हुनु भएको थियो । एक लाख ५ हजार २०६ मतदाता रहेको क्षेत्र नं. २ मा ७४ हजार २९३ मत खसेको थियो ।

त्यस्तैगरी रुपन्देहीको क्षेत्र नं. ३ मा पनि एमालेका अर्का उपमहासचिव घनश्याम भूसाल विजयी हुनु भएको छ । उहाँले राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष दिपक बोहोरालाई पराजित गर्दै ५ हजार ४४४ मतान्तरले विजयी हुनु भएको हो । प्रतिनीधि सभामा निर्वाचित एमाले उपमहासचिव भुसालले ३२ हजार ८६६ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्दी राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बोहोराले २७ हजार ४२२ मत प्राप्त गर्नुभएको छ । रुपन्देहीको क्षेत्र नं. ३ मा एक लाख ९ हजार २७८ मतदाता रहेकोमा ८४ हजार ४६ मत खसेको थियो ।

रुपन्देहीको क्षेत्र नं. ४ मा भने राजपा नेपालका उपाध्यक्ष सवेन्द्रनाथ शुक्लालाई ११ हजार ३०३ मतले पराजित गर्दै नेपाली काँग्रेसका उम्मेदवार प्रमोदकुमार यादव निर्वाचित हुनु भएको छ । निर्वाचित नेपाली काँग्रेसका उम्मेदवार यादवले ३१ हजार ७१८ मत प्राप्त गर्नुभएको थियो भने राजपा नेपालका उम्मेदवार शुक्लाले २० हजार ४१६ मत प्राप्त गर्नुभयो । कुल ८९ हजार ८३५ मतदाता रहेको क्षेत्र नं. ४ मा ६७ हजार ७६९ मत खसेको थियो ।

त्यस्तै रुपन्देहीको क्षेत्र नं. ५ मा नेपाली काँग्रेसका नेता पूर्व अर्थराज्यमन्त्री भरतकुमार शाह विजयी हुनु भएको छ । एमाले माओवादी गठबन्धनका उम्मेदवार माओवादी नेता डिलाराम आचार्यलाई भारी मतले पछाडी पार्दै विजयी हुनु भएको हो । काँग्रेस उम्मेदवार शाहले ३३ हजार ८८ मत प्राप्त गर्नुभएको छ भने माओवादी कन्द्रका उम्मेदवार आचार्यले २० हजार ४३८ मत प्राप्त गर्नुभएको छ ।

यस अंगाडी सोही क्षेत्रबाट २०७० को संविधान सभा निर्वाचनमा पनि शाह नै निर्वाचित हुनु भएको थियो । कुल १ लाख ६ हजार १५३ मतदाता रहेको उक्त क्षेत्रमा ७९ हजार ४९६ मत खसेको थियो ।

त्यस्तै प्रदेश सभा तर्फ रुपन्देहीको १(१)बाट राप्रपा प्रजातान्त्रिकका उम्मेदवार दाहिर अली भाटलाई पराजित गर्दै एमालेका कृष्णप्रसाद न्यौपाने १९ हजार २२० मत सहित विजयी हुनु भएको छ भने १(२) बाट काँग्रेस उम्मेदवार हरि न्यौपानेलाई पराजित गर्दै माओवादी केन्द्रका दधिराम न्यौपाने १३ हजार १४ मत सहित विजयी हुनु भएको छ ।

क्षेत्र नं. २(१)बाट काँग्रेस उम्मेदवार काजिमान श्रेष्ठलाई हराउँदै एमाले उम्मेदवार लिला गिरी २१ हजार ७३४ मत सहित विजयी हुनु भएको छ भने २(२) बाट काँग्रेस उम्मेदवार महेशमान सिंहलाई हराउँदै एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ २१ हजार १३७ मत सहित विजयी हुनु भएको छ ।

क्षेत्र नं. ३(१)मा काँग्रेस उम्मेदवार देवीप्रसाद चौधरीलाई पराजित गर्दै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार सन्तोषकुमार पाण्डेय ११ हजार ४७७ मत सहित विजयी हुनु भएको छ भने ३(२) मा काँग्रेस उम्मेदवार हरिध्वज मल्ललाई पराजित गर्दै एमाले उम्मेदवार तुलसीप्रसाद चौधरी १८ हजार ६१५ मत सहित विजयी हुनु भएको छ ।

क्षेत्र नं. ४(१) मा राजपा नेपालका उम्मेदवार हरजत अलीलाई पराजित गर्दै काँग्रेस उम्मेदवार अष्टभुजा पाठक ९ हजार ६४ मत सहित विजयी हुनु भएको छ भने ४(२) मा १२ हजार ११३ मत सहित काँग्रेस उम्मेदवार वसीउद्धिन खाँ जिवयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार विरेन्द्र कलवारले ५ हजार ७६९ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं. ५(१)मा काँग्रेस उम्मेदवार विष्णुप्रसाद पोखरेललाई पराजित गर्दै एमाले उम्मेदवार भूमिश्वर ढकाल २२ हजार २५ मत सहित विजयी हुनु भएको छ भने ५(२) मा १६ हजार ६८३ मत सहित काँग्रेस उम्मेदवार फकरुद्धिन खाँ विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका उम्मेदवार रमाउती यादवले ९ हजार २५० मत प्राप्त गर्नुभएको थियो ।