जनताले नपताएका ‘हेवी वेट’ नेताहरु

476

जनताले नपताएका  ‘हेवी वेट’ नेताहरु

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अहिलेसम्म आएको नतिजा अनुसार ठूला पार्टीका प्रभावशाली नेताहरु पनि पराजित भएका छन् ।

यसरी पराजित हुनेमा एमाले र माओवादी केन्द्रका उपाध्यक्षदेखि राप्रपा अध्यक्षसम्म छन् । यस्तै, पराजित हुनेमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि छन् । यो निर्वाचनमा पराजित हुनेमा बाम गठबन्धनका सूत्रधार भनिएका नेताहरुसमेत परेका छन् ।

रामचन्द्र पौडेल 
तनहुँ क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पराजित भए । उनलाई किसानकुमार श्रेष्ठले पराजित गरेका हुन् । विजयी श्रेष्ठले ३४ हजार ४८९ मत ल्याए भने पौडेलले २७ हजार ६७५ मतमा चित्त बुझाए ।

बामदेव गौतम 
एमाले उपाध्यक्ष बामदेव गौतम पनि यो निर्वाचनमा पराजित भए । बर्दिया क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रिएका गौतले कांग्रेसका सञ्जय गौतमसँग हार बेहोरेका हुन् । सञ्जयले ४४ हजार ८२९ मत प्राप्त गर्दा गौतमका पक्षमा ४४ हजार ७६ मत खसेको थियो । देशैभर वाम गठबन्धनको लहर चलिरहेका बेला गौतम भने पराजित भएका हुन् । गौतम बाम गठबन्धनका सूत्रधार समेत हुन् ।

नारायणकाजी श्रेष्ठ 
एमाले नेता बामदेव गौतमलाई जस्तै बाम गठबन्धन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि फापेन । श्रेष्ठ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भएका हुन् । भट्टराईले ३१ हजार ८०७ मत ल्याउँदा श्रेष्ठले २४ हजार ९३३ मत ल्याए । श्रेष्ठ पनि बाम गठबन्धनका सूत्राधार हुन् ।

शेखर कोइराला
मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पनि यो निर्वाचनमा हार बेहोर्न बाध्य नेता हुन् । उनी एमाले नेता लालबाबु पण्डितसँग पराजित भएका हुन् । पण्डितले ३३ हजार ९४१ मत प्राप्त गर्दा कोइरालाले ३३ हजार २६६ मत पाए ।

डा. रामशरण महत 
नुवाकोट क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता डा. रामशरण महत प्रतिनिधिसभा सदस्यका लागि पराजित भए । उनलाई माओवादी केन्द्रका हितबहादुर तामाङले भारी मतान्तरले पराजित गरे । तामाङले ३६ हजार ४७३ मत ल्याँउदा महत २७ हजार ९२० मतमा खुम्चिएका थिए ।

अर्जुन नरसिंह केसी 
केन्द्रको राजनीतिमा प्रभाव राख्ने नुवाकोट क्षेत्र नं. २ का अर्जुन नरसिंह केसी पनि यो निर्वाचनमा पराजित भए ।
एमाले नेता नेता नारायण खतिवडाले उनलाई पराजित गरेका हुन् । खतिवडाले ३६ हजार ८९२ मत ल्याउँदा  केसी २६ हजार ३३५ मतमा सीमित भए ।

महेश आचार्य
कांग्रेस नेता महेश आचार्य पनि पराजित हुने उमेदवार हुन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार बनेका आचार्य माओवादी केन्द्रका अमनलाल मोदीसँग पराजित भए । मोदीले ३३ हजार ५२९ मत प्राप्त गर्दा आचार्यको पक्षमा २६ हजार ८०० मत खसेको थियो ।

दमननाथ ढुंगाना  
दमननाथ ढुंगाना पनि यो निर्वाचनमा पराजित भए । भक्तपुर क्षेत्र नम्बर २ बाट उनी पराजित एमाले युवा नेता महेश बस्नेतसँग उनी पराजित भएका हुन् । बस्नेतले ३६ हजार ४१३ मत ल्याएर विजयी हुँदा ढुंगानाका पक्षमा  १८ हजार ६३५ मतमात्रै खस्यो ।

कृष्णप्रसाद सिटौला
नेपाली कांग्रेसको राजनीतिको केन्द्रमा रहेका नेता कृष्णप्रसाद सिटौला पनि यो निर्वाचनमा फराकिलो मतान्तरले पराजित भए । झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि लडेका उनलाई राप्रपाका राजेन्द्र लिङदेनले पाखा लगाएका हुन् ।
लिङदेनको पक्षमा ४४ हजार ६१४ मत खस्दा सिटौलालाई  ३१ हजार १५६ मतदाताले मात्रै भोट खसाले ।

विश्वप्रकाश शर्मा 
झापाबाटै कांग्रेसका अर्का प्रभावशाली नेता पनि यो निर्वाचनमा हार भोग्न बाध्य भए । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा माओवादीका नेता राम कार्कीसँग पराजित भए । झापा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उठेका शर्माले ३३ हजार ३१० मत ल्याए भने कार्कीलाई ३६ हजार १७३ मत खसेको थियो ।

विमलेन्द्र निधि 
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधी पनि यो निर्वाचनमा पराजित भए । धनुषा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि लडेका निधी राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भए ।  महतोले ३० हजार ७५० मत पाउँदा निधीका पक्षमा २७ हजार ८४७ मत मात्रै खसेको थियो ।

आरजु राणा देउवा 
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा कांग्रेसकी प्रभावशाली नेतृ आरजु राणा देउवा पनि पराजित भइन् । कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उठेकी उनलाई एमालेका नारदमुनी रानाले पराजित गरेका हुन् ।रानाले २७ हजार २०२ मत ल्याएर विजयी हुँदा राणाले २२ हजार ३२२ मत पाइन् ।

खगराज भट्ट
माओवादी केन्द्रका नेता खगराज भट्ट पनि पराजित उमेदवार हुन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका भट्ट डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उठेका थिए । देउवाको पक्षमा २८ हजार ४४ मत प्राप्त हुँदा भट्टले २१ हजार ११५ मतमा चित्त बुझाए ।

दीपकुमार उपाध्याय 
नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पनि पराजित उमेदवार हुन् । कपिलवस्तु क्षेत्र नं. १ बाट पराजित भएका उनी माओवादी केन्द्रका नेता चक्रपाणी खनालसँग प्रतिस्पर्धामा थिए । खनालले २९ हजार ७९९ मत ल्याउँदा उपाध्याय २८ हजार ८५३ मतमा सीमित भए । उपाध्याय भारतका लागि नेपालको राजदूतबाट राजीनामा दिएर चुनावमा उठेका थिए ।
कांग्रेसकै गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार तथा रमेश लेखकको चुनावी परिणाम आउन बाँकी छ ।

कमल थापा 
मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा खडा भएका राप्रपा अध्यक्ष कमल थापा पनि यो निर्वाचनमा पराजित भए । एमालेका कृष्ण दाहालले उनलाई पाखा लगाएका हुन् । दाहालले ४० हजार ६३१ मत ल्याउँदा थापा ३४ हजार ६५८ मतमा नै सीमित हुन पुगे ।

पशुपतिशमशेर राणा
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा पनि सिन्धुपालचोक– २ मा पराजित भए । उनलाई नेकपा एमालेका युवा नेता शेरबहादुर तामाङले ३८ हजार ४०१ मत ल्याएर हराए । राणाले ३० हजार ३६९ मत ल्याए ।