बुटवल, पुस ।रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि तथा प्रदेश सभामा नेपाली काँग्रेसका उम्मेदवारहरुले पाँच नम्बर प्रदेशको राजधानी बुटवलमै बनाउनु पर्नेमा जोड दिएका छन् ।
राजधानी बुटवल कि दाङ भन्ने बहस भइरहेका बेला कांग्रेसका नेताहरुले बुटवल उपयुक्त रहेको बताएका हुन् । आईतबार उनीहरुले बुटवलमा पत्रकार भेटघाट कार्यक्रम गरेर निर्वाचन प्रचारका क्रममा प्रदेशको राजधानी बुटवललाई बनाईने मुद्धा उठाएको र यस क्षेत्रका जनताको चाहना पनि बुटवलमै राजधानी बनाउनु पर्ने रहेकोले यो मुद्धालाई स्थापित गर्न आफूहरु लागिपरेको बताए ।
सो अवसरमा प्रतिनिधि सभाका उम्मेदवार युवराज गिरीले भौगोलिक बनौट, सुगमता, आवश्यक भौतिक पूर्वाधार लगायतका कारणले पनि बुटवलमा नै प्रदेश राजधानी बनाउन उपयुक्त भएको बताउनु भयो ।
‘काँग्रेस जनताको साथमा छ ।’ उहाँले भन्नुभयो–‘बुटवलमा प्रदेश राजधानी बनाउने मुद्धा काँग्रेसले मात्रै नभएर यहाँका जनताले उठाएको मुद्धा हो ।’ बुटवलमा प्रदेश राजधानी बनाउने मुद्धा आफूहरुले उठाएकाले यसलाई टुङ्गोमा पु¥याउने दायित्व पनि आफूहरुको भएको भन्दै उम्मेदवार गिरीले यो अभियानलाई सफल बनाउने काममा साथ दिन विपक्षि दलका नेता कार्यकर्तालाई पनि आग्रह गर्नुभयो ।
पत्रकार भेटघाटमा प्रदेश सभाका उम्मेदवारहरु काजिमान श्रेष्ठ र महेशमान सिंहले पनि बुटवललाई प्रदेश राजधानी बनाउन नेपाली काँग्रेसले संकल्प गरेको बताउँदै बुटवलमा नै प्रदेश राजधानी बनाउन आफूहरु प्रतिवद्ध भएर लागेको बताउनु भएको थियो । प्रदेश तथा प्रतिनिधि सभामा नेपाली काँग्रेस पराजित भएपनि समृद्धि र बिकास निर्माणका काममा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता उहांहरुले व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाली काँग्रेसले प्रदेश राजधानी बनाउनकालागि बुटवलमा भौतिक पूर्वाधार सहितका प्रशस्त सम्भावना भएकाले बुटवलमै राजधानी बनाउनु पर्ने बताएको छ ।
आईतबार नै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, बुटवल नगर सभापति खेलराज पाण्डेय, तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेय, देवदह नगर सभापति गुणाखर भुर्तेल र सैनामैना नगर सभापति रामप्रसाद अधिकारीले संयुक्त विज्ञप्ती प्रकासित गरी अस्थायी राजधानीकालागि प्रयाप्त भौतिक पूर्वाधार र पछि स्थायी बनाउनकालागि समेत प्रसस्त जग्गा समेत रहेकाले बुटवलमै राजधानी तोक्न सरकारसंग माग गर्नुभएको हो ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, सुगमता, बुटवल भैरहवा ६ लेन सडक, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल, यातायात, व्यापार, पर्यटन, शिक्षा र उद्योग क्षेत्रको बिकास तथा बिस्तारका लागि रुपन्देहीमा प्रयाप्त सम्भावना भएको हुँदा प्रदेशको राजधानी बनाउन उपयुक्त हुने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा पूर्व–पश्चिम, उत्तर–दक्षिणको भौगोलिक सुगमता, गौतम बुद्धको मावली देवदह, ऐतिहासिक जितगढी किल्ला, सेन बंशीय राजाहरुको सितकालिन दरवार, आदि मानव रामापिथेकसको अस्थिपञ्जर भेटिएको ऐतिहासिक स्थानका कारणले पनि बुटवललाई प्रदेश राजधानी बनाउन उपयुक्त छ विज्ञप्तीमा भनिएको छ ।
यसैवीच प्रेस चौतारी रुपन्देहीले पनि पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई बनाउन माग गरेको छ । साथै प्रदेशको राजधानीका विषयमा क्षेत्रीय प्रशासकको नेतृत्वमा सरकारी टोलीले गरेको अध्ययन र अध्ययनपछि बुटवलमा राजधानीका लागि प्रयाप्त संरचना रहेको निष्कर्ष निकालिएकोमा स्वागत गर्दै चौतारीले रुपन्देही सबै हिसावले राजधानीका लागि उपयुक्त रहेको ठहर गरेको हो ।
प्रेस चौतारी रुपन्देहीको आइतबार बुटवलमा बसेको बैठकले प्रदेशसभाको बैठक, त्यसको सचिवालय र विभिन्न मन्त्रालयहरुका लागि समेत रुपन्देहीका सम्पूर्ण पूर्वाधार र संरचना रहेकाले रुपन्देहीलाई राजधानी बनाउनु उपयुक्त रहेको ठहर गरेको बैठकपछि अध्यक्ष अमृत गिरीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।