‘आवश्यकता अनुसारको शिक्षामा जोड’

1.3K

‘आवश्यकता अनुसारको शिक्षामा जोड’

बुटवल, ४ पुस ।  प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटीईभिटी)ले सञ्चालन गर्ने सीपयुक्त तालिमका लागि सरकारले पछिल्लो पटक ल्याएको श्रम ऐन बाधक बनेको छ । सिटीईभिटीले सञ्चालन गरेको दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना अन्तरगत सञ्चालित तालिमलाई श्रम ऐनले बाधा गरेको कार्यक्रम अधिकृत दिपक अर्यालले बताउनु भयो ।

यो परियोजना अन्तरगत सिटीईभिटीले एक हजार ६ सय ९६ घन्टे (करिव ९ महिने) तालिम प्रदान गर्दछ । जसमा करिव आधा समय तालिम प्रदायक संस्थामा र आधा समय सम्बन्धित उद्योगमा प्रयोगात्मक तालिम सञ्चालन गरिने उपनिर्देशक कुश्माखर भट्टले जानकारी दिनुभयो । पाईलट प्रोजेक्टका रुपमा अगाडी सारिएको तीन वर्षे यो परियोजनामा करिव ३ हजार ६ सय युवालाई तालिम प्रदान गर्ने लक्ष्य लिईएको र अहिले करिव १ हजार २ सय जनाले कुक तालिम लिईरहेको परियोजनाका प्रवन्धक महेश भट्टराईले जानकारी गराउनु भयो । उहाँका अनुसार अव लगत्तै प्लम्बर, मेसन, अटोमेकानिकल लगायतका तालिम सञ्चालन गर्ने तयारी भएको छ ।

तर पछिल्लो पटक आएको श्रम ऐनले केही बाधा गरेकाले तालिम सञ्चालनमा समस्या आएको हो । पछिल्लो पटक सरकारले ल्याएको श्रम ऐनमा भएको व्यबस्था उद्योगमा तालिमे कर्मचारीलाई पनि न्यूनतम वेतन दिनुपर्ने, सञ्चयकोषको व्यबस्था गर्नुपर्ने लगायतका प्रावधानले तालिममा रहेका युवालाई उद्योगी व्यबसायीले ठाउँ नदिने समस्या सिर्जना भएको छ । प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद (सिटीईभिटी)ले मंगलबार बुटवलमा प्राविधिक तथा व्यबसायिक शिक्षा तालिम सम्बन्धमा सरोकारवालाका लागि अभिमूखिकरण कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा सिटीईभिटी सम्वद्ध अधिकारीले श्रम ऐनमा केही सुधार गर्न उपयुक्त हुने धारणा राखेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै सिटीईभिटीका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले रोजगारदाताले चाहेको जनशक्ति उत्पादन गर्नकालागि सिटीईभिटी लागिपरेको बताउनुभयो । उहाँले शिक्षा आवश्यकता अनुसार हुनुपर्ने बताउँदै सीपयुक्त जनशक्ति उत्पादन नहुँदा सम्म समृद्धिको यात्रा पनि अधुरो हुने बताउनु भयो । ‘पढिसकेपछि काम पाईन्छ की पाईँदैन ?’ उहाँले भन्नुभयो– ‘पढिसकेपछि सम्मानजनक काम पाउनु पर्छ र अबका बच्चाबच्चीलाई काम गर्ने बनाउनकालागि पनि सीप युक्त शिक्षा अपरिहार्य छ ।’

उहाँले उत्पादनमुलक शिक्षामा जोड दिँदै प्राबिधिक शिक्षा तथा व्यबसायिक तालिम परिषद सीपयुक्त शिक्षा प्रदान गरिरहेको र राज्यको पुनःसंरचनासंगै कसरी संघीय ढांचामा बदल्ने भन्ने रहेकाले आउने सरकारको धारणा समेत बुझेर सरकारलाई प्रतिवेदन बुझाउने बताउनु भयो ।
त्यस्तै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले मुलुकको आवश्यकता अनुसारको शिक्षा दिनुपर्ने बताउनु भयो । उहाँले समृद्धिकालागि वेरोजगारको अन्त्य गर्न र त्यसकालागि उद्योग धन्दाको बिकास अपरिहार्य रहेको बताउनु भयो । युवालाई मुलुक भित्र रोजगारी सिर्जना गर्नकालागि उद्योगधन्दामा अधिकतम लगानी र ती उद्योगमा काम गर्ने दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभयो ।
प्राविधिक शिक्षा तथा व्यबसायिक तालिम परिषदले युवालाई सीपयुक्त बनाउनकालागि दीगो तथा सम्मानित रोजगारीकालागि सीप, सीप बिकास र कार्य क्षमता अभिबृद्धि परियोजना सञ्चालन गरेको छ ।

जसमध्ये सीप बिकास परियोजना अन्तरगत छोटा तथा लामो अवधिका तालिम सञ्चालन हुने गर्दछ भने कार्य क्षमता अभिबृद्धि परियोजना अन्तरगत अनौपचारिक रुपमा काम गरिरहेका मजदुरलाई योग्यताको फ्रेमवर्कमा ल्याउने र दीगो तथा सम्मानित रोजगारीकालागि सीप परियोजना अन्तरगत निर्माण, होटल तथा पर्यटनका क्षेत्रमा नीजिक्षेत्रसंगको सहकार्यमा युवालाई सीप प्रदान गरिने कार्यक्रम रहेको अधिकृत अर्यालले बताउनु भयो ।

कार्यक्रममा होटल व्यबसायीको संस्था हानका केन्द्रीय महासचिव विनायक शाहले युवालाई सीपयुक्त ज्ञान आवश्यक रहेको बताउँदै उद्योग व्यबसायमा आवश्यक ज्ञान सीप भए ती युवा विदेश जानुपर्ने बाध्यता नभएको बताउनु भयो । उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधि, सिटीईभिटीबाट सम्बन्ध प्राप्त शैक्षिक संस्था तथा व्यबसायिक संस्थाका प्रतिनिधिहरु सहभागि थिए । कार्यक्रममा सहभागिले सरकारी निकायबाट प्रदान गरिने तालिमलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्न सुझाव दिएका छन् ।

सरकारका १५÷१६ वटा मन्त्रालयबाट छुट्टाछुट्टै तालिम सञ्चालन गर्दा एउटै व्यक्तिमा तालिम दोहोरिने समस्या हुने र तालिमको औचित्य नरहने भएकाले एकद्वार प्रणालीबाट सञ्चालन गर्न सुझाव दिईएको थियो । एकातिर उद्योगी व्यबसायीले आवश्यकता अनुसारको दक्ष जनशक्ति अभाव भईरहेको बताउँदै आएका छन् भने अर्कोतिर रोजगारीकालागि विदेशिने युवाहरुको ताँती नै छ । रोजगारीकालागि दैनिक विदेश पलायन हुने युवालाई रोक्नकालागि सरकारले उचित कार्यक्रम ल्याउन सुझाव समेत दिईएको थियो ।