‘संघीयता कार्यान्वयनमा अवसरसंगै चुनौती’

1.3K

‘संघीयता कार्यान्वयनमा अवसरसंगै चुनौती’

बुटवल, ५ पुस। मुलुकमा संघीयताको कार्यान्वयनसंगै संघ, प्रदेश र स्थानीय तहका काम कारवाही बाझिने सम्भावना रहेकाले समयमै सचेत हुनु पर्ने पत्रकारहरुले औंल्याएका छन् । संघीयताको कार्यान्वयनमा सञ्चार माध्यमको भूमिकाका बिषयमा चाँदनी नेपाल रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संविधान जारी भएपछि स्थानीय तह, प्रदेश सभा र प्रतिनीधि सभाका तीन वटा चुनाव सम्पन्न भईसकेकाले मुलुक विधिवत रुपमा संघीयतामा प्रवेश गरेको र संघीयताको अवसरसंगै चुनौतीपनि उत्तिकै रहेको उनीहरुले औंल्याए ।

संविधानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको साझा तथा छुट्टा छुट्टै अधिकारको व्यबस्था गरिएको छ । संविधानमा एउटै विषयमा तीनवटै तहलाई दिईएको अधिकारमा कसले के गर्ने भन्ने प्रष्ट नखुलाईँदा निर्णय प्रकृयामा बाझिन सक्ने उनीहरुले औंल्याएका हुन् । स्थानीय तह सञ्चालन ऐन २०७४ तयार भएपनि प्रदेश सरकार सञ्चालन ऐन बनिसकेको छैन । कार्यक्रममा पत्रकारहरुले स्थानीय तह, प्रदेश र संघीय सरकार सञ्चालनकालागि नबाझिने गरी कानुन बनाउन समेत सुझाव दिएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसीले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार बिच साझा अधिकारको प्रयोग कसरी गर्ने भन्ने अन्यौल रहेको र त्यसैमा समस्या देखिएको बताउनु भयो । उहाँले संविधानले प्रत्यायोजन गरेको अधिकार प्रयोगमा स्थानीय तह र प्रदेश सरकार, प्रदेश सरकार र संघीय सरकार तथा स्थानीय तह र संघीय सरकार बिचमा टकरावको स्थिती आउन सक्ने आँकलन गर्नुभयो ।

यस्तो परिस्थितीमा मुलुकको कानुन र संघीय संरचना अनुसार नै विषउ उठान गर्ने दायित्व पत्रकारको पनि भएकाले पत्रकारहरुले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । ‘संविधानको सफल कार्यान्वयनले मात्रै मुलुक अंघि बढ्न सक्छ, संघीयता असफल भयो भने मुलुकले थेग्नै नसक्ने अस्थिरता आउन सक्छ ।’ उहाँले भन्नुभयो–‘यो डरलाग्दो अध्यारोबाट मुलुकलाई बचाउन सञ्चार माध्यम र पत्रकारको भूमिका पुलको हुनुपर्छ ।’

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एवं राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले अस्थित्वको खोजी गर्ने क्रममा संघीयताका आएको बताउँदै अस्थित्व रक्षाकालागि पनि संघीयताको सफल कार्यान्वयनकालागि पत्रकार र सञ्चार माध्यम चनाखो हुनु पर्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीले संघीयता अवसर भएपनि कार्यान्वयन गर्ने क्रममा चुनौतीहरु देखा पर्न सक्ने बताउँदै चुनौतीको सामाना गर्न र सफल कार्यान्वयनकालागि पत्रकारले मध्यस्थता गर्नुपर्ने बताउनु भयो । समाजलाई कुन दिशामा अंगाडी बढाउने भन्ने कुरा पत्रकारमा पनि रहने भएकाले संविधान र संघीयतालाई सहि दिशामा दिशा निर्देश गर्नकालागि पत्रकारको भूमिका अहम हुने पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दिपक ज्ञवालीले बताउनु भयो ।

कार्यक्रममा पत्रकारहरु यमलाल भुसाल, डायलसन अधिकारी, दामोदर खनाल, गोपाल भण्डारी, मायाँ गौतम लगायतले संघीयता कार्यान्वयनमा अवसरसंगै चुनौती पनि उत्तिकै रहेकाले सम्बन्धित सरकारहरु गम्भिर हुनु पर्ने र त्यसमा पत्रकारहरुले खवरदारी गरिरहनु पर्ने भनाई राखेका थिए । कार्यक्रममा चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डेले संघीयता कार्यान्वयन गर्ने क्रममा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले सहअस्थित्व स्वीकार गर्न सकेनन् भने समस्या आउने उल्लेख गर्नुभयो । उहाँले संघीयता कार्यान्वयनका चुनौती धेरै भएपनि तत्काल विषयप्रवेश मात्रै गराईएको र यसलाई निरन्तर बहस र छलफल गरेर अंगाडी बढ्ने बताउनु भयो ।